Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

लन्डन – प्रगतिशील नेपाली समाज, बेलायतको आयोजनामा साउथ लण्डन कलेजमा नेकपा माओवादीका केन्द्रिय उपाध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यमा नेपालमा संविधान सभाको विघटनपछिको राजनैतिक घटना विकास क्रमहरु र नेपाली क्रान्तिको भावी दिशा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रणबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रममा एनडिएफका केन्द्रिय अध्यक्ष दिनेश घिमिरे, एनपीसीसी यूकेका सहसचिव शक्तिश्री राज पाठक, डब्लुपिआरएमका हसन अतिथिकारुपमा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव तोयानाथ रिजालले गर्नुभएको थियो भने स्वागत भाषण समाजका सदस्य फ़ुलप्रसाद कंडेलले गर्नुभएको थियो ।

डब्लुपिआरएमका हसनले छोटो मन्तव्य राख्दै नेपाली क्रान्तिले साच्चिकै विश्वभरीका जनताको मन छोएको र श्रमजीवी जनताको आशाको केन्द्र बनेको प्रचण्ड मण्डलीले यो आशाको किरणको गला निमोठेर सदाको लागि नै क्रान्तिको ढोका बन्द गरे पनि फेरि नेकपा माओवादीको आगमनसँगै केही श्रमजीवी जनताको आशा पलाएको र यसले लिने कार्यक्रमको हामी विदेशमा रहने हरेक श्रमजीवी जनताको सहयोग रहने कुरा बताए । पश्चिममा पुँजीवाद घिरो क्रयासिसमा परेको हुँदा अहिले साच्चैको क्रान्तिकारी आन्दोलनबाट मालेमावादको लागू गरेर मात्र श्रमजीवी जनतनाको मक्ति हुने र यो क्रयासिसको समाधान गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै एनडिएफका दिनेश घिमिरेले अहिलेसम्म जति पनि आन्दोलन, क्रान्ति भए त्यसबाट खासै नेपाली जनताले केही पनि उपलब्धिको अनुभुति गर्न नसकेको हुँदा कुनै पनि पार्टी, नेतालाई विश्वास गर्न नसकिने अवस्था सृजना भएको हुँदा अबका दिनमा नेपाली जनताको जीवनमा परिवर्तनको अनुभुति हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । विचारमा एक नभएपछि पार्टी फुट्ने कुरा स्वाभाविक नै हुने र आफ़ु पनि यस्तो अवस्थाबाट गुज्रिएर आएको कुरा बताउनुभयो । त्यस्तै पिएनसिसिका राज पाठकले अहिलेको नेपालीको विषम परिस्थितिमा एकले अर्कालाई दोष दिनु भन्दा पनि के कसरी निकास निकाल्न सकिन्छ त्यसको उपाय खोज्नुपर्ने बताउनुभयो । अहिलेको अवस्था सृजना हुनुमा सबै राजनौतिक पार्टी जिम्मेवार रहेको कुरा बताउनुभयो । समाजका सल्लाहकार कर्ण शाहीले पार्टी फ़ूटको औचित्य प्रकाश पार्नु हुँदै एमाओवादी पार्टी भ्रष्टाचारमा लिप्त र जनयुद्ध र त्यसका शहीदहरुलाई धोका दिएको र राष्ट्रियतालाई कमजोर बनाउँदै राष्ट्रिय आत्मसमर्पणवाद तर्फ़ अगाडि बढी सबै जनयुद्धका उपलब्धि समाप्त पार्दै पार्टीलाई नव संशोधनवादी दक्षिणपन्थी कित्तामा लगेको हुँदा सम्बन्ध विच्छेद गरी नेकपा माओवादी पार्टी बनाई क्रान्तिको झण्डालाई उठाउनु परेको कुरा प्रष्ट पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेलले नेपाको वर्तमान अवस्था निकै जटिल भएको र यसको समाधान छिटै नभए देश असफल राष्ट्र हुने तर्फ़ लागेको बताउनुभयो । राजनैतिक र संवैधानिक संकटको अवस्थालाई चिर्न सहमति गरी सबै राजनैतिक पार्टीका विचमा गोलमेच सम्मेलन गरी सहमतिको निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टी फेरि जनयुद्ध गर्न छापामार युद्धमा जान्छ भन्ने प्रश्नमा पार्टी जनआन्दोलनमा जाने कुरा स्पष्ट छ तर छापामार युद्धमा जाने कुरा भने असत्य भए पनि जनताको पक्षमा युद्धको अपरिहार्यता भने समाप्त नभएको बताउनुभयो ।

पचण्ड, बाबुरामले नेपाली सेना लगाएर मध्यरातमा शिविरहरु घेरेर आफ्नै जनमुक्ति सेनालाई जवरजस्ती आत्मसमर्पण गर्न वाध्य पारी भयंकर षडयन्त्र गरेको बताउनुभयो ।

उहाँले सहमति र गोलमेच सम्मेलनबाट निकास निकाल्नुपर्नेमा जोड दिँदै यदि बाबुराम सरकार रही रहे नेपाल असफ़ल राष्ट्र हुनेमा शंका नरहेको स्पष्ट पार्नु भयो ।

भारतीय नं. प्लेटका सवारी साधनलाई नेपालमा रोक लगाइएको आन्दोलनले नेपामा राष्ट्रिय पुँजीपति र दलाल नोकरशाही पुँजीपति विचको स्पष्ट खाडललाई स्पष्ट पारेको र यसलाई जनस्तरबाट मात्र नभइ पुलिस एवं राष्ट्रिय पुँजीपतिबाट सहभागितात्मक सहयोग भएको प्रस्ट पार्नुभयो ।

देश असफल राष्ट्र हुने दिशातर्फ़ बाबुराम सरकारले निरन्तर धकेलिरहेको अवस्थामा पार्टीको निरन्तर प्रयासबाट समेत सहमति हुन नसकेमा देशलाई असफ़ल राष्ट्र हुन नदिन जनस्तरबाट सहमति हुन नसकेमा देशलाई असफल राष्ट्र हुन नदिन जनस्तरबाट जनसंविधान जारी गर्ने, यसलाई मान्यता दिनको लागि संयुक्त राष्ट्र संघ लगायत विश्व समुदायमा आग्रह गरिने बताउनुभयो ।

कार्यक्रमको समापनको क्रममा छोटो सूचनाको बावजुद पनि समय मिलाएर उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमका सभापति रण्बहादुर केसीले आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभयो । नेकपा माओवादीले नेपाली जनता र राष्ट्रको लागि गर्ने हरेक कार्यक्रममा हातेमालो गर्दै सहयोग गर्दै नेपाली जनतको अधुरो क्रान्तिलाई सफल बनाउने कार्यमा नेकपा माओवादीइलाई सफता मिलोस भन्ने हार्दिक कामना गर्नुभयो । ***

तपाईको प्रतिक्रिया