बेल्जियम – नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १० औं महाधिवेशन हालै सम्पन्न भएको छ । उक्त अधिवेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा–माओवादीका उपाध्यक्ष गौरवले भन्नुभयो – ‘नेपाल संवैधानिक संकटबाट गुज्रिरहेको छ । अन्तरिम संविधानमा संविधान सभाको पुनर्रस्थापना गर्ने, नयां निर्वाचन गराउने कुनै प्रावधानको व्यवस्था छैन र अन्तरिम संविधान संशोधन गर्ने कुनै पनि वैधानिक निकाय पनि नभएकाले सवै राजनैतिक दलहरुको सहभागितामा गोलमेच सम्मेलनवाट नयां सहमति खोज्नु नै उत्तम उपाय हो ।’
उहांले अगाडि भन्नुभयो – ‘राज्य पुनर्संरचनामा संविधान सभामा विषयगत समितिले विभिन्न आधारलाई समेटेर प्रस्ताव गरेको १४ वटा राज्यनै हाम्रो पार्टीको बटमलाइन हो । यसको पक्षमा प्रचण्ड र बाबुराम छन कि भनेर भ्रममा पर्नु सत्यलाई लुकाउनु हो । संविधान सभाका दुई तिहाइ सभासद १४ राज्य समितिको पक्षमा उभिएपछि भारतको निर्देशनमा संविधान सभा विघटन गर्नेले त्यसको पक्षमा छु भन्नु विडम्वना मात्र हो ।’
अधिवेशन आयोजक समितिका संयोजक प्रेम पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सयौंको संख्यामा बेल्जियमबासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बेल्जियमस्थित प्राय सबै नेपाली संघ संस्थाका नेतृत्वहरुको उपस्थिति रहेको थियो । विभिन्न संघ संगठनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । आयोजक समितिका सदस्य कुल मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई सोम थनेतले स्वागत गर्नुभएको थियो ।
उक्त अधिवेशनको बन्द सत्रले संगठनको राजनैतिक तथा वैचारिक प्रतिवेदन र विधानलाई पारित गर्दै सर्वसम्मतिवाट एक सदस्य पछि थप्ने गरी १७ सदस्यीय कार्य समिति गठन गरेको छ ।प्रेम पाठकको नेतृत्वमा गठित उक्त समितिको उपाध्यक्षद्धय सोम नारायण थनेत र मेख तमु महासचिव कुलबहादुर मगर, सचिव शुशिला पराजुली, कोषाध्यक्ष रुपेष व्लोन, सदस्यहरुमा मिङ्मार लामा, दिल आले, यमुना रोका मगर, अन्जु मल्ल, गौरव छन्त्याल, अरवीन घले, बेनी ढुंगाना, रकेन्द्र घिमिरे, ओम थारु र जीवन श्रेष्ठ रहनुभएको छ ।
क. गौरवको प्रमुख आतिथ्यमा रबिष्णु भुजेल, रामबहादुर गुरुङ र बदन योङ्हाङ सम्मिलित अध्यक्ष मण्डलले सञ्चालन गरेको बन्दसत्रले सर्वसम्मतीबाट बिष्णु भुजेल, रामबहादुर गुरुङ, वदन योङ्हाङ, पपुशा किराती, मणि राई तेज रेग्मी सल्लाहकारमा चयन गरिएको छ । उक्त वन्द सत्रले नेपाली जनप्रगतिशील मञ्च वेल्जियम विविध कारणले बेल्जियमको कानुनी समस्यामा फसेकाले तत्काल वैधानिक मञ्च खडा गर्न आवस्यक रहेकाले संगठनको नाम नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियम राख्ने निर्णय गरियो । नवनिर्वाचित समितिको तर्फवाट अध्यक्ष प्रेम पाठकले सपथ मन्तव्य व्यक्त गर्नुभयो र कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो । ***