काठमाडाैं – बार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्कीले २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । ३३ वर्षिय लेवनडोस्कीले लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्न सफल भए ।
२०२१ मा ६९ गोल गरेका लेवनडोस्कीले लिभरपुलका मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेइन (पिएसजी) का लियोनेल मेसीलाई पछि पार्दै अवार्ड हात पारे । लेवनडोस्कीले २०२१ मा गर्ड मुलरले बुन्डेस लिगमा एकै क्यालेन्डर इयरमा गरेको सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए। उनले ३४ खेलमान ४३ गोल गर्दै कीर्तिमान तोडे । लेवान्डोस्कीले यो अवार्ड तीनै लिजेन्ड गर्ड मुलरप्रति समर्पित गरेका थिए ।
म्यानचेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डोले स्पेशल अवार्ड हात पारे । रोनाल्डो केही समय अघि अन्तर्राष्ट्रिय फुटबलमा ‘अल टाइम टप स्कोरर’ बनेका थिए । बार्सिलोनाकी एलेक्सिया पुटेलासले वर्ष महिला खेलाडीको अवार्ड हात पारिन् । चेल्सीका थोमस टुचेलले वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । उनले चेल्सीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
टोटनह्यामका पूर्व विंगर एरिक लमेलाले आर्सनलविरुद्ध गरेको गोलले पुस्कास अवार्ड हात पार्यो । चेल्सीकी एडवार्ड मेन्डी उत्कृष्ट गोलरक्षक बने । उनले च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदा क्लिन सिट राखेका थिए ।
डेनमार्कको राष्ट्रिय टिमलाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरियो । २०२१ मा भएको युरो कपमा फिनल्यान्ड विरुद्धको आफ्नो पहिलो खेलमानै क्रिश्टियन एरिक्सन मैदानमा ढल्दा डेनमार्कको टीमले प्रशंसनीय काम गर्दै उनको ज्यान बचाएको थियो । चेल्सीकी एमा हायसले महिला वर्ष प्रशिक्षकको उपाधि जितिन् ।