टोकियो – विश्वव्यापी सनसनी फैल्याएको ओदाइवाको डिजिटल कला संग्रहालय “टिम ल्याब बोडरलेस”ले यो वर्षको अगस्ट ३१ देखि संग्रहालय बन्द गर्ने घोषणा गरेको छ ।
२०१८ मा औपचारिक रुपमा संचालनमा आएको उक्त संग्रहालयले १६० देश र क्षेत्रहरुबाट लाखौं आगन्तुकलाई आकर्षित गरेको थियो । र एकल समूहद्वारा संचालित संसारको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालयको रूपमा गिनीज वर्ल्ड रेकर्ड राखेको थियो । सन् २०१९मा संग्रहालय भ्रमण गर्ने आगन्तुकको वार्षिक संख्या २१ लाख १८ हजार २८४ जना रहेको थियो ।
टिम ल्याब बोडरलेस संसारको पहिलो डिजिटल कला संग्रहालय हो । यो संग्रहालय एनिमेटर, प्रोग्रामर, आर्किटेक्चर, गणितज्ञ र डिजाइनरको सामूहिक अडियो भिजुअल प्रदर्शनी हो । यस संग्रहालयमा कुनै नक्शा वा मार्ग छैन । यहाँका कलाकृतिहरुले आफ्नो रंग, आकार, र आवाजहरुलाई निरन्तर परिवर्तन गरीरहेका हुन्छन् । संग्रहालयमा ५२० वटा कम्पूटर र ४७० वटा प्रोजेक्टरद्वारा कलाकृति प्रदर्शन गरिएको छ ।
टिम ल्याब बोडरलेस २०२२ मा बन्द गरेर २०२३ मा थप परिवर्तनसहित केन्द्रीय टोकियोमा खुल्ने तयारी गरेको जानकारी दिएको छ ।