काठमाडाैं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन् । लेगस्पिनर सन्दीप सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
उनले मनोनयनमा परेका बंगलादेशी बलर नासुम अहमद र अमेरिकी ब्याटर जसकरण मल्होत्रालाई पछि पारे । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । उनी ओमानमा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँगका दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका थिए ।
यो अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहन्छ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको मतभार १० प्रतिशत हुन्छ ।