काठमाडौं – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा प्लेअफमा लगभग स्थान पक्का गरेको छ । यूएईको शारजाहमा बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै कोलकाताले प्लेअफमा स्थान लगभग पक्का गरेको हो ।
डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको अंकगणितीय हिसाबले प्लेअफ सम्भावना बाँकी रहेकाले कोलकाता लगभगमा पुगेको हो । यद्यपि मुम्बईले अन्तिम खेलमा निकै नै फराकिलो अन्तरको जित निकाले मात्र रन रेटमा कोलकाता पछि पर्ने देखिन्छ । जुन सम्भव भन्दा असम्भव बढी देखिन्छ ।
कोलकाताको खेल
कोलकाताले दिएको १७२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले निकै नै कमजोर खेल्दै १६.१ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । त्यस बाहेक शिवम दुबेले १८ रन बनाएका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाएनन् ।
चार खेलाडीले रनको खाता पनि खोल्न सकेनन् । राजस्थानलाई कम योगफलमा रोक्नका लागि शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । शुबमन गिलले ५६, भेन्काटेस ऐयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।
राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।
अंक तालिका
यो खेलसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमै छ । एक खेल खेल्न बाँकी छँदै उसले २० अंकसहित शीर्ष स्थान पक्का गरिसकेको छ । दोस्रो स्थानको चेन्नईले सबै खेल खेलेर १८ अंक जोडेको छ ।
अन्तिम खेल खेल्नुअघि रोयल च्यालेन्जर्स बैंगलोरको १६ अंक छ ।
कोलकाताले सबै खेल खेल्दा १४ अंक जोडेको छ ।
पंवाबले सबै खेल खेलेर १२ अंक बनाउँदै पाँचौं स्थानमा छ । ऊ प्रतियोगिताबाट बाहिरिएको छ ।
छैटौं स्थानको मुम्बईले अन्तिम खेल खेल्नुअघि १२ अंकसहित छैटौं स्थानमा छ । राजस्थानले सबै खेल खेल्दा १० अंक जोडेर सातौं स्थानमा रहेर लिग सकाएको छ ।
६ अंकको सनराइजर्स हैदराबाद पुछारमा छ ।
लिगका अन्तिम खेल
प्लेअफ समीकरण शुक्रबार पूरा हुँदैछ । लिग चरणका सबै खेल शुक्रबार सकिने छन् । अन्तिम दुई खेलमा मुम्बई र हैदराबाद तथा दिल्ली र बैंगलोर भिड्दै छन् ।
दुवै खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछन् । यो खेल अबुधाबीमा हुँदैछ । मुम्बईले यो लिगकै सबैभन्दा कमजोर हैदराबादमाथि अप्रत्याशित फराकिलो जित निकाल्ने हो भने प्लेअफमा स्थान बनाउन सक्नेछ । त्यसको विकल्प छैन ।
त्यस्तै बैंगलोरले पनि फराकिलो जित निकाल्ने हो भने दोस्रो स्थानमा पुग्न सक्नेछ । यो खेल दुबईमा हुनेछ ।