काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सिजनको पहिलो हार बेहोर्ने क्रममा फ्रान्सेली लिग १ अन्तर्गत शनिबार रेनेससँग हार बेहोरेको छ । रेनेसको मैदानमा भएको खेलमा पिएसजी २-० ले पराजित भएको हो ।
लिगको शीर्षस्थानमा रहेको पिएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पे सम्मिलित आक्रमणले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।
यता रेनेसले भने पहिलो हाफको अन्तिम मिनेट र दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै जित हासिल गरेको हो । खेलको ४५ औं मिनेटमा गैतान लाबोर्डले रेनेसको लागि गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै फ्लाभिएन टेटले गोल गर्दै अग्रता दोब्बर पारे ।
हारका बाबजुद पनि पिएसजी अंक तालिकामा ६ अंकले अघि छ । पिएसजीले ९ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानको लेन्सले ९ खेलमा १८ अंक बनाएको छ ।