टोकियो – जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथन प्रतियोगिता अर्को वर्ष हुने गरी सरेको छ । अर्को वर्ष सन् २०२२ को मार्चमा हुने गरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारी र टोकियोमा जारी प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएको छ । जापानमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिए पनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निष्कर्ष छ ।
‘कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने देखिएकाले अर्को वर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुने गरी टोकियो म्याराथन २०२१ सरेको छ,’ टोकियो म्याराथन फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रतियोगिता सुरुमा यसै वर्ष सन् २०२१ को मार्चमा हुने गरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो । तर टोकियोमा अहिले पनि सङ्कटकाल लागु भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो । प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरी नामावली आइसकेको आयोजकले जानकारी दिएको छ ।