काठमाडाैं – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जाँ-पिएर आडम्सको ३९ वर्ष लामो कोमापछि ७३ वर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेकाले त्यसपछि कहिल्यै चेतनामा आएनन् ।
सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए । दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन् । आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए । उक्त क्लबले पनि वक्तव्यमा प्रकाशित गरेर शोक प्रकट गरेको छ ।
प्रशिक्षणका क्रममा घाइते भएका आडम्सको शल्यक्रियाको दिन अस्पतालका धेरै कर्मचारीहरू हडतालमा थिए । उनको शल्यक्रिया त भयो तर एनस्थीजीया दिन खटिएका एक चिकित्सकले आठजना बिरामी हेर्नुपर्ने अवस्था आइपरेको थियो । ती चिकित्सकले एक प्रशिक्षार्थी चिकित्सकको सहायता लिए । ती प्रशिक्षार्थी चिकित्सकले पछि ‘आफूलाई दिइएको जिम्मेवारी वहन गर्न नसक्ने अवस्थामा भएको’ बताएका थिए ।
एनस्थीजीया दिने चिकित्सक र प्रशिक्षार्थी चिकित्सकका केही गल्तीका कारण आडम्सलाई हृदयाघात भयो र उनको मस्तिष्कमा पनि असर गर्यो । सन् १९९० को दशकको मध्यतिर दुवै चिकित्सकलाई सो गल्तीका लागि एक महिनाको निलम्बन र ७५० यूरो जरिवानाको सजाय दिइएको थियो । आडम्सलाई १५ महिनापछि अस्पतालबाट नीमस्थित घर पठाइएको थियो जहाँ उनकी पत्नी बेर्नाडेटले उनको हेरचाह गरिन् ।