काठमाडौं — लन्डन डर्वीबीचको प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र ट्याम्मी अब्राहमले गोल गरे । घरेलु टोलीका लागि ग्रानिट झाकाले एक गोल फर्काए ।
खेलको २७औं मिनेटम काई हाभर्टजको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ६९औं मिनेटमा सब्सिच्युट ग्रानिट झाकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । थोमस पार्टेले चोट बोकेपछि ग्रानिट ३९औं मिनेटमा मैदान छिरेका थिए ।
७२औं मिनेटमा सब्सिच्युट ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । अब्राहम ४६औं मिनेटमा टिको वेर्नरको स्थानमा मैदान छिरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।
यही खेलबाट गत शुक्रबार मात्रै ब्राइटनबाट आर्सनल आएका बेन ह्वाइटले डेब्यु गरे । तर उनको पहिलो खेल सुखद हुन सकेन । चेल्सीले आर्सनलविरुद्धको खेलमा पुरै २२ खेलाडीलाई मौका दिएको थियो । आर्सनलले १९ खेलाडी प्रयोग गरेको थियो ।
अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ११ अगस्टको राति स्पेनिस क्लब भिल्लारियलसँग युइएफए सुपरकपमा प्रतिस्पर्धा गर्नेछ । आर्सनलले ८ अगस्टमा टोटेनहसँग मैत्रीपुर्ण खेल खेल्नेछ । १४ अगस्टमा ब्रेन्टफोर्डसँग खेल्लै प्रिमियर लिगको सुरुवात गर्नेछ ।