काठमाडौं — टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा एथलेटिक्स इभेन्ट्समा नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन् । उनले शुक्रबार सय मिटर हिट–२ मा प्रतिस्पर्धा गर्दैछिन् । उनका प्रशिक्षक सन्तोष श्रेष्ठ हुन् । संयोगवस एथलेटिक्सका सहभागी खेलाडी र प्रशिक्षक दुवैजना भाग्यमानी बनेका छन् । यी दुवैले आशा नगरेको अवसर प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रारम्भिक सूचीमा नत चौधरीको नाम थियो न उनका प्रशिक्षक श्रेष्ठ नै थिए । चौधरी र श्रेष्ठले अन्तिम समयमा टोकियो जाने अवसर पाएका हुन् । एक किसिमले भन्नुपर्दा दुवैलाई ओलम्पिकको चिठ्ठा परेबराबर नै भयो ।
डेढ वर्षअघि नै एनओसी र नेपाल एथलेटिक्स संघले धावक गोपीचन्द्र पार्कीलाई टोकियो ओलम्पिकमा सहभागी गराउने भनी लङ लिस्टअनुरूप युनिभर्सालिटी प्लेस कोटामा नाम पठाएको थियो । नेपालगन्जमा सम्पन्न म्याराथनमा पहिलो स्थान हात पारेपछि पार्की ओलम्पिकमा छनोट भएको एनओसीले घोषणा गरेको थियो ।
नेपालगन्ज म्याराथनको पुरुषतर्फ पहिलो हुने खेलाडीले ओलम्पिक खेल्ने घोषणा एनओसीले नै गरेको हो । त्यसपछि ओलम्पिक खेल्ने सपना पूरा गर्ने लक्ष्यका साथ गोपी तयारीमा थिए । एनओसीले पनि यहीअनुसार तयारीको प्रबन्ध मिलाएको थियो । यो अवधिमा गोपी टोकियोमा नेपालबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न तयार भइसकेका थिए । तर, ओलम्पिक सुरु हुन तीन साता पनि बाँकी नहुँदै राष्ट्रिय खेलकुद परिषद्, एनओसी र एथलेटिक्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गोपी टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने जानकारी दिए ।
१ जुलाईमा परिषद्, एनओसी र एथलेटिक्स संघको संयुक्त विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले नेपाललाई एथलेटिक्समा नभएर सय मिटर महिला दौडमा मात्र कोटा छुट्याइएको रहेछ । अन्तर्राष्ट्रिय खेलकुदको समन्वयन गर्ने प्रमुख संस्था एनओसी र एथलेटिक्स संघले आफ्नो प्रवाधिक गल्ती स्वीकार नगरी आइओसीको नियमकै कारण गोपीले टोकियो ओलम्पिक खेल्नबाट वञ्चित भएको दाबी गरिरहेका छन् ।
नेपाली खेलकुदसम्बन्धी खेल निकायकै गल्तीका कारण गोपीको ओलम्पिक खेल्ने सपना क्षणभरमै तुहियो । गोपीले सात महिनादेखि निरन्तरता गरेको ओलम्पिक तयारी व्यर्थ बन्यो । र, एनओसी र संघको गल्तीमा महिला धाविका चौधरीको भाग्य चम्कियो । एनओसीले महिला कोटाअनुसार नेपालकै उत्कृष्ट महिला खेलाडी चौधरीलाई सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने निर्णय गर्यो । उनी टोकियो ओलम्पिककै भाग्यमानी खेलाडी ठहरिइन् । चौधरीले टोकियो ओलम्पिकमा छनोट हुने कल्पनसमेत गरेकी थिइनन् ।
एनओसीकै निर्णयअनुसार चौधरीले सय मिटरको स्पिन्टमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । टोकियो जानुअघि चौधरीले आफूलाई भाग्यमानी खेलाडी भएको प्रतिक्रिया दिएकी थिइन् । ‘एक किसिमले म भाग्यमानी खेलाडी भएँ,’ एनओसीले आयोजना गरेको टोकियो ओलम्पिक यात्रा कार्यक्रममा चौधरीले भनेकी थिइन्, ‘कहिलेकाहीँ नसोचेको परिणाम हात लाग्ने रहेछ ।’
चौधरीसँगै टोकियो पुगेका प्रशिक्षक श्रेष्ठ पनि भाग्यमानी ठहरिए । एनओसीले महिला खेलाडीलाई प्रशिक्षण गराउन सजिलो हुन्छ भनेर महिला प्रशिक्षक इन्द्राकुमारी मल्ललाई जिम्मेवारी दिएको थियो ।
तर, मल्लले दुर्भाग्यको सामना गरिन् । डेढ साताअघि टोकियो जाने खेलाडी, अफिसियल तथा प्रशिक्षकहरूको पिसिआर टेस्ट गर्दा मल्लको नतिजा पजिटिभ आयो । र उनी ओलम्पिकमा सहभागी हुन पाइनन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले विज्ञप्तिमार्फत संक्रमित प्रशिक्षक मल्लको स्थानमा लङ लिस्टमा रहेका प्रशिक्षक श्रेष्ठ म्याराथन प्रशिक्षकका रूपमा टोकियो जाने जानकारी गराए । यो निर्णयपछि मल्लले आफूमाथि एनओसीले अन्याय गरेको आरोप लगाइन् । स्टार अस्पतालमा परीक्षण गराउँदा पजिटिभ आएको भोलिपल्ट मल्लले विभिन्न चार ल्याबमा पुनः पिसिआर परीक्षण गराइन् । तर, स्टार अस्पतालसहित अन्य तीनै स्थानको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । मल्लले एउटा रिपोर्टकै आधारमा रातारात आफ्नो नाम काटिनु रहस्यमय भएको बताएकी छिन् । तर, एनओसीले निर्णय गरिसकेको हुँदा मल्लको केही सीप लागेन ।