काठमाडौं – नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ । महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी हुन् ।
पहिलो हिटमा नै प्रतिस्पर्धा गरेकी गौरीकाले एक मिनेट शुन्य दशमलव ११ सेकेण्डमा दुरी पूरा गरिन् । उनी नाइजेरीया र म्यानमारकी खेलाडी भन्दा पछाडी रहिन् । नाइजेरीयाकी एबियोलाले ५९.७४ सेकेण्डमा दुरी पूरा गरिन् भने म्यानमारकी एन्डेलाले एक मिनेट शुन्य दशमलव एक सेकेण्डमा दुरी पूरा गरिन् ।
गौरिकाले १०० मिटर फ्रि-स्टाइलमा लङ काेर्समा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् । गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
जारी टोकियो ओलम्पिकमा पौडीमा नै एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी आफ्नो हिट चरणमा पहिलो भएपनि अर्को चरणमा पुग्न सकेका थिएनन् । यता सुटिङकी खेलाडी कल्पना परियारले ब्यक्तिगत प्रदर्शनमा सुधार गरेकी थिइन् ।
अब टोकियोमा नेपालबाट एथ्लेटिक्सको मात्र प्रतिस्पर्धा बाँकी रहेको छ । यसमा नेपालबाट सरस्वती चौधरीले एक सय मिटरमा प्रतिस्पर्धागर्नेछिन् । उनको प्रतिस्पर्धा जुलाई ३० मा रहेको छ ।