काठमाडौं — घरेलु टोली इंग्ल्यान्डविरुद्ध ३ खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान विजयी भएको छ । उसले शुक्रबार भएको खेलमा ३१ रनको जित हात पारेको हो।
पाकिस्तानले दिएको २३३ रनको बलियो लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लिम लिभिङ्गस्टोनले शतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो साथ नदिँदा त्यो जितका लागि पर्याप्त बन्न सकेन ।
लिभिङ्गस्टोनले ४३ बलमा ६ चौका र ९ छक्काको मद्दतले १०३ रन प्रहार गरे । जेसन रोयले ३२, कप्तान इयान मोर्गान र डेविड विलीले समान १६-१६ रनको योगदान दिए ।
पाकिस्तानका शहिन अफ्रिदी र शादब खानले समान ३-३, हरिस राउफ, मोहम्मद हसनैन र इमाद वसिमले समान १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले कप्तान बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनको मद्दतले निर्धारित २० ओेभरमा ६ विकेट गुमाउँदै २३२ रनको बलियो योगफल तयार पारेको थियो ।
आजमले ४९ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ८५ रन प्रहार गर्दा ६३ रन जोडेका रिजवानले ४१ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
फखर जमानले २६ र मोहम्मद हाफिजले २४ रनको योगदान दिए ।
इंग्ल्यान्डका लागि टम करनले २, डेविड विली, साकिब महम्मद र लेविस ग्रेगोरीले समान १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल जुलाई १८ मा हुनेछ ।