काठमाडाैं – रियो ओलम्पिककी स्वर्ण विजेता अमेरिकी हर्डल्स खेलाडी ब्रियना म्याकनिलले टोकियो ओलम्पिक गुमाउने भएकी छन् । खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टस् (कास) ले उनको अपिल खारेज गरिदिएपछि उनले टोकियो ओलम्पिकमा सहभागिता नहुने पक्का भएको छ ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी डोपिङ) नियमको उलंघन गरेको आरोपमा एथ्लेटिक्स इन्टिग्रिटी युनिटले ब्रियानलाई ५ वर्षको प्रतिबन्ध लगाएको थियो । कासले उनको अपिललाई खारेज गरिदिएपछि यो प्रतिवन्ध लागु हुने भएको छ । २९ वर्षीय ब्रियना १२ महिनामा ३ पटक एन्टी डोपिङ परीक्षणमा अनुपस्थित भएकी थिइन् ।
उनले सन् २०१६ को रियो ओलम्पिकमा अमेरिकालाई हर्डल्स १०० मिटरमा स्वर्ण दिलाएकी थिइन् । उनी सन् २०१३ को विश्व च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । कोरोना महामारीका कारण १ वर्ष धकेलिएको ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा हुनेछ ।