काठमाडौं – टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ । तीन जना नियमित कोटा र दुई जना वाइल्ड कार्डमार्फत छनोट भएपछि पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको हो ।
ती खेलाडीले कोभिड संक्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन् । जुडोकी सोनिया भट्टले र शुटिङकी कल्पना परियारले वाइल्ड कार्डमार्फत् टोक्यो ओलिम्पिकको सहभागिता निश्चित गरेकी हुन् । एथलेटिक्सका गोपीचन्द्र पार्की तथा पौडीबाट गौरिका सिंह र एलेक्स शाहको नाम भने नियमित कोटाबाट छनोट भए ।
कोभिड महामारीका कारण एक वर्ष ढिलो गरी सुरु हुन लागेको टोक्यो ओलिम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ । सन् १९६४ को टोक्योओलिम्पिकदेखि नै सहभागिता जनाउन थालेको नेपाली खेलकुदको यो १४ औँ ओलम्पिक सहभागिता हो ।
कसरी पाए कल्पना र सोनियाले ?
शुटिङ खेलमा वाइल्ड कार्डका लागि योग्य हुनका निम्ति अन्तर्राष्ट्रिय शुटिङ महासङ्घले निर्धारण गरेको न्यूनतम छनोट स्कोर (एमक्युएस) ल्याउनै पर्छ । १० मिटर एयर राइफलको ५९० एमक्यूएस राखिएको थियो ।
सन् २०१९ नोभेम्बरमा कतारको दोहामा भएको एसियाली शुटिङ च्याम्पियनसिपमा कल्पना परियारले ६१३ दशमलव ९ स्कोर गरिन् र वाइल्ड कार्डकी दाबेदार बनिन् । शुटिङमा १२ पुरुष र १२ महिला गरी २४ वटा वाइल्ड कार्डको कोटा पनि थियो ।
सोनियाले सन् २०१९ मै मोरक्कोमा सम्पन्न विश्व जुडो च्याम्पियनसिपको ४८ केजी मुनिको तौल समूहमा मोजाम्विककी खेलाडीलाई पराजित गरेर २०० अङ्क बटुलेकी थिइन् । त्यहाँ उनले प्रभाव छोडेकी थिइन् । जुडोमा वाइल्ड कार्डको लागि २० वटा कोटामा सोनिया पार्न सफल भएकी हुन् ।
छानिएका खेलाडीमा पौडीकी सिंहले लन्डनमा तथा बाँकी खेलाडीले काठमाडौंमा प्रशिक्षण लिइरहेका छन् । नेपालबाट यसपालि खेलाडी र अधिकारी गरी झन्डै दुई दर्जनको सहभागिता हुन सक्ने बताइएको छ ।