काठमाडौं– नेपाली राजनितीमा गणतन्त्रबादी नेताको रुपमा परिचित नेता रामराजाप्रसाद सिंहको आज बिहान शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ । वयोवृद्ध नेता सिंहको स्वास्थ्यस्थितिमा केही असहज देखिएपछि उहाँलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । यसै क्रममा बिहान ६ बजे उहांको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दुख्ने, स्मरण शक्ति कमजोर हुने लगायत उच्च रक्तचाप एवम् मृगौलाको समस्या भएपछि उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत भदौ १७ गते उपचारका लागि भर्ना हुनुभएको हो ।
उहाँको उपचारमा चिकित्सक तथा नशारोग विशेषज्ञ डा. के. के. वली र डा. कनकबहादुर राउतको समूह संलग्न थियो । नेता सिंहको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।
यसै बिच सरकारले स्व. नेता सिंहको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने तयारी गरेको बुझिएको छ । त्यसको लागि औपचारिक निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
स्व. नेता सिहको निधनको खबर सुनेर एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड लगायतका नेताहरु अस्पताल पुगेका थिए ।