काठमाडौं – पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाेभन्दा बढी शुल्क लिने आठवटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) ले गरेको निर्णय सुनाउँदै बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुल्क समायोजन नगरे प्रयोगशाला परीक्षणको स्वीकृति खारेज गरिने निर्णय भएकाे बताए ।
गौतमका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार आठवटा ल्याबले बढी शुल्क लिएर परीक्षण गरिरहेको पाइएको छ ।
‘बढी शुल्क लिएका प्रयोगशालालाई एकपटकका लागि चेतावनी दिने र २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ,’ गौतमले भने ।
बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, साैर्या हेल्थकेयर छन् ।
स्वास्थ्य मन्त्रालयले २८ भदौको निर्णयअनुसार देशभरका सबै प्रयोगशालाले पिसिआर परीक्षण गर्दा बढीमा दुई हजार शुल्क मात्र लिन पाउने ताेकेको थियो ।
तोकिएकोभन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालो बजारीअन्तर्गत कारबाही गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय भएकोसमेत उनले बताए ।