काठमाडौँ – कोरोना भाइरस विरुद्धको खोपमा सफलता हासिल गरेको दावी गरेको रुसले सामान्य लक्षणसहितका संक्रमितको उपचारका लागि ‘कोरोनाभिर’ नामक औषधि तयार गरेको छ ।
आर–फर्माको कोरोनाभिर औषधि रुसको नियामक निकायले सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ ।
रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म उपलब्ध भइसक्ने छ । यो औषधि उपलब्ध हुनेवित्तिकै १६८ जनामा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसरी आर–फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ ।
यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको रूसले यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित रहेका छन् । जापानले फेभिपिभिर लाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ ।
रुसले यसअघि नै कोभिड–१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक–भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।