टोकियो – म्याग्दीमा बाढी पहिरोले विस्थापितको पुर्नवासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति जापानले आर्थिक सहयोग गरेको छ । जापानमा रहेका म्याग्दीवासी तथा जापानवासी नेपालीहरुबाट संकलित २३ लाखभन्दा बढी सहयोग गरिएको हो । उक्त पहिरोमा परी गम्भीर घाइते भएका बिरामीको तत्काल उपचारका लागि यस अघि पनि मोना जापानले १ लाख रुपैंया पठाईसकेको छ ।
मोना जापानमा महासचिव गणेश श्रेष्ठकाअनुसार दाताहरुबाट प्राप्त २३ लाख २१ हजार २४० रुपैया मोना अन्तर्राष्ट्रिय कार्यसमिति (मोना आईईसी)ले सञ्चालन गरेको पुर्नवास अभियानका लागि गरिमा विकास बैंकको खातामा जम्मा गरिएको हो । मोना आइइसीले पहिरो प्रभावित क्षेत्रमा स्थानीयका लागि सरोकारवालासंग मिलेर पुर्नवास अभियान सञ्चालन गरिरहेको छ ।
गएको असार २५ गते अविरल वर्षापछि आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । कतिपय बस्तीका स्थानीय विस्थापित हुनुपरेको यस घडिमा उनीहरुको सहयोगका लागि अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा सहयोग गरेका तर, नामावलीमा नाम छुटेकालाई जानकारी गराउन पनि मोना जापानले आग्रह गरेको छ ।
अभियानमा सहयोग गर्ने कार्यसमिति पदाधिकारी, सल्लाहकार, अधियानका संयोजक विशाल केसी, विभिन्न संघसंस्था, व्यवसायी मोना क्षेत्रिय कार्यसमति नागोया र सम्पूर्ण सहयोगदाताहरुलाई मोना जापानले धन्यवाद ज्ञापन गरेको छ । ***