काठमाडौं – नेपाल वायुसेवा निगमले १७ भदौ देखि शुरू गरेको नियमित उडानको हवाइ भाडादर सार्वजनिक गरेको छ । निगमको हवाइ भाडा पनि महँगो भएको गुनासो बढेपछि सरकारले खुला गरेका उडान गन्तव्य अनुसारको भाडादर सार्वजनिक गरिएको हो ।
निगमले नियमित उडानका लागि हवाइ भाडा निर्धारण गर्दा विभिन्न चारवटा वर्गमा वर्गीकरण गरेको छ । निगमले सोही बमोजिम विभिन्न क्षेत्रका लागि नियमित उडानको भाडदरको दायरा गन्तव्य अनुसार फरक भएको पनि उल्लेख गरेको छ ।
निगमले करसहित तय गरेको यस्तो भाडादरमा काठमाडौंलाई आधार बनाएर मलेसियाबाट आउँदा र युएईको दुबईबाट आउँदा चार प्रकारले भाडादर तय गरेको छ । हङकङ र जापानबाट आउँदा भने एउटा दरको मात्रै भाडा तय गरेको छ ।
यस्तो भाडामा क्वालालम्पुरबाट आउँदा मलेसियन रिंगिट अनुसार न्युनतम १४५८, १६२८, १८०३ र २००३ तय गरेको छ । यस्तै दुबइको लागि युएई दिराम अनुसार न्युनतम १४४० १७२०, १८२० र २१२० रहेको छ । यस्तै हङकङको लागि हङकङ डलर ४१९८ र जापानको लागि जापानी येन ७६३०० भाडा तय भएको वायुसेवा निगमले जानकारी दिएको छ ।
निगमले तय गरेको यस्तो हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको पनि उल्लेख छ । निगमले निर्धारण गरेको भाडादर भन्दा बढी रकम तिरेर कसैले पनि टिकट खरीद नगर्न पनि यसले सम्बन्धित यात्रुलाई अनुरोध पनि गरेको छ ।
उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ ।
https://www.facebook.com/NepalAirlinesRA/photos/a.1034759803305729/3257953854319635/?type=3&theater