काठमाडौं – कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर नामक औषधिको पहिलो ब्याच नेपालमा आइपुगेको छ । येटिचेम वितरक प्रालिले उक्त औषधि नेपालमा ल्याइएको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय निर्माता सिप्ला लिमिटेडले येटिचेममार्फत् सिप्रेमी ब्राण्डनाम अन्तर्गत रेम्डेसिभिर लाइफोलाइज्ड पाउडरमा १०० एमजी इंजेक्सन पठाएको येटिचेमले जनाएको छ । सो कम्पनीलाई औषधि व्यवस्था विभाग (डीडीए), स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ उपचारका लागि तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीकाअनुसार पहिलो ब्याचको ४८० सिसी बनिसकेको छ । जसको प्रति सिसी (पर भायल) ६ हजार ४ सय रुपैयाँ मूल्य पर्छ । कम्पनीले सबै संक्रमितको पहुँचमा पुगोस् भन्ने उद्देश्यले सस्तोमा यो औषधि उपलब्ध गराइएको दाबी गरेको छ ।
कम्पनीका अध्यक्ष प्रभु आर वैद्यले भने, ‘हामीले २ हजार सिसी बनाउन अनुमति पाएका छौं ।’ उनका अनुसार यो औषधि तीन ब्याचमा बनाइनेछ । ४८० सिसीको दोस्रो ब्याच सेप्टेम्बर १० सम्म बनिसक्ने र बाँकी १०४० सिसी ब्याच सेप्टेम्बर २५ सम्म बनिसक्ने कम्पनीको भनाइ छ ।
नेपालमा कोभिड-१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिर दिने व्यवस्था गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)द्वारा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू पालन गरेर मात्र विरामीहरुमा रेम्डेसिभिरबाट उपचार गर्न पाइनेछ ।
बिरामीको उपचारमा रेम्डेसिभिर प्रभावकारी
बीर अस्पतालका डा. अशेष ढुंगानाले कोभिड-१९ का बिरामीको उपचारमा रेम्डेसिभिर प्रभावकारी देखिएको बताएका छन् । आशङ्का वा प्रयोगशालाले पुष्टि गरिएको संक्रमणका बिरामीहरुमा रेम्डेसिभिर परिक्षण गर्दा प्रभावकारी पाइएको हो ।
‘हाल मात्र यूएस एफडीए स्वीकृत आपतकालीन प्रयोग प्राधिकरण (ईयुए)मा यसको सफल परिक्षण भएको छ । अप्रिलको अन्तमा जारी गरिएको यूएसद्वारा संचालित क्लिनिकल परीक्षणमा, रेम्डेसिभिरको प्रयोगले अस्पतालमा बिरामी बस्नुपर्ने पूर्णदिनको लगभग चार दिन घटाइदियो,’ डा. ढुंगानाले भने ।
उनका अनुसार रेम्डेसिभिरलले शरीरमा सार्स-कोभ-२ कोरोनाभाइरसको पुनर्उत्पादनलाई रोक्ने काम गर्छ । ‘यो सामान्यतया कोरोनाभाइरस संक्रमणको कारण शरीरमा अक्सिजनको कमीले गम्भीर अवस्थामा पुगेका कोभिड-१९ का बिरामीहरूलाई दिइन्छ,’ डा. ढुंगानाले भने, ‘यस्ता बिरामीका लागि दक्ष साबित भएको छ ।’
येटिचेम डिस्ट्रिब्युटर्स प्राइवेट लिमिटेडका अध्यक्ष प्रभु आर वैद्यले अहिले येटिचेमले अस्पताल र प्राथमिकताका क्षेत्रहरुमा गम्भिर प्रकृतिका कोभिड-१९ का विरामीहरुमा सो इंजेक्सनको सहज आपूर्तिको सुनिश्चिता गर्ने कोशिस गरेको बताए । ‘विभिन्न अध्ययनका आधारमा रेम्डेसिभिर प्रभावकारी देखिएकाले कम्पनीले सोको उपलब्धता बढाउँदै गएको छ,’ वैद्यले भने, ‘सफल परिक्षणको आधारमा औषधिको व्यावसायिक वितरणमा सरकारले अनुमति दिनुपर्छ ।’