काठमाडौं – कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रका मुलुकमध्ये नेपालमा सबैभन्दा धेरै रहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको दर ४३ प्रतिशत छ ।
यो संख्या अन्य सात वटा सार्क सदस्य राष्ट्रमध्ये सबैभन्दा धेरै हो । ११ भदौसम्म नेपालमा कोरोनाबाट ३५५२९ जना संक्रमित भएका छन् । यीमध्ये ४३ प्रतिशत अर्थात १५२७३ सक्रिय संक्रमित छन् भने ५६.५ प्रतिशत अर्थात २००७३ निको भइसकेका छन् । कुल संक्रमितमध्ये ०.५ प्रतिशत अर्थात १८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
एक साता अघिको तथ्याङ्क अनुसार सार्क राष्ट्रमा नेपालपछि धेरै कोरोनाका कुल संक्रमितमध्ये सक्रिय संक्रमित दर बांग्लादेशमा ३९.६ र निको भएका व्यक्तिको संख्या ५९ प्रतिशत छ । यसपछि यो दर माल्दिभ्समा ३८.२, भुटानमा २९.४, भारतमा २३.८, अफगानिस्थानमा २३.२, श्रीलंकामा ४.९ र पाकिस्तानमा ४ प्रतिशत छ ।
२० साउनसम्मको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कोरोनाबाट निको हुने दर ७१.५ थियो तर, ११ भदौसम्म निको हुने दर ५६.५ प्रतिशतमा झरेको छ । र सार्क राष्ट्रका अन्य मुलुक भन्दा नेपाल संक्रमित निको हुनेमा पछाडि परेको छ । यसरी हेर्दा संक्रमित धेरै निको हुनेमा भने पाकिस्तान अगाडि छ, त्यहाँ ९५.५ प्रतिशत संक्रमित निको भएका छन् ।
सार्कका अन्य मुलुकमा जस्तै जाँचको मात्रा मात्र नभई दायरा बढाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । ‘जाँचको मात्राभन्दा पनि दायरा बढाउनुपर्छ, संख्या पुर्याउन परीक्षण गर्नु हुँदैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘हाल दिनहुँ न्यूनतम २५ हजार परीक्षण गर्नुपर्छ । परीक्षण बढाउँदा केस बढेको स्पष्ट भइसकेको छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । भारतले दिनहुँ दस लाखसम्म कोरोना परीक्षण गरिरहेको उल्लेख गर्दै उनले अन्य जनस्वास्थ्यको प्रक्रिया अपनाउनुका साथै परीक्षणको दायरा व्यापक नबनाएसम्म संक्रमण नियन्त्रण सम्भव नभएको बताए ।
विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।