कनठमाडौं । वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस सङ्क्रमित भएका हुनसक्ने देखिएको छ ।
किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै सङ्क्रमण भएको पाइएको छ ।
यसको अर्थ के हो ?
अनुसन्धानकर्ताहरू भन्छन् यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी सङ्क्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ । उनीहरूले एप्रिल २८ सम्म १,५०० सङ्क्रमितहरूको आँकडा केलाएका थिए । त्यतिखेर यूकेमा सङ्क्रमण उच्च तहमा पुगेको थियो ।
मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टर भन्छन्: “यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए ।” “उनीहरू वृद्धवृद्धा थिए, कमजोर थिए र अन्य रोग लागेकाहरू थिए ।” तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो। शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो ।
कसरी गरियो अनुसन्धान ?
अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् सङ्क्रमित भएकाहरूलाई मात्र अस्पतालबाट सङ्क्रमित भएको मानिएको छ । यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा सङ्क्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ ।
तर भाइरसको सङ्क्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै सङ्क्रमित भनेर यकिन गर्न असम्भव हुन्छ । अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ् भन्छन् यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा सङ्क्रमित भएकाहरू समेट्न नसकेको हुन सक्छ ।
साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए । जबकि अधिकांश त्यस्ता मानिस जो अस्पतालमा सङ्क्रमित भए तर जसलाई कुनै उल्लेखनीय असर देखिएन र घरमै विनाउपचार निको भए । जे होस् यो अध्ययनले अस्पतालबाट सङ्क्रमण फैलिने जोखिम तुलनात्मक कम नै रहेको देखाएको छ ।