काठमाडौँ – अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनमा राजनीतिक प्रभाव पर्न थालेको देखिएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र हुन लागेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई निर्वाचनमा फाइदा हुने गरि फास्ट ट्रयाकमा भ्याक्सिनको अनुमति दिने तयारी गरेको मिडिया रिपोर्ट बाहिरिएको छ ।
न्युयोर्क टाइम्स र फाइनान्सियल टाइम्सले हाल बेलायतमा अक्फोर्ड युनिभर्सिटीले बनिरहेको भ्याक्सिनलाई फाष्ट ट्रयाकबाट अनुमति दिन ट्रम्प प्रशासनले दबाब बढाइरहेको रिपोर्ट सार्बजनिक भएको छ । यद्यपी ट्रम्प प्रशासनले यस रिपोर्टलाई खारेज गरेको छ ।
मिडिया रिपोर्टमा ह्वाइटहाउस भ्याक्सिनको ट्रयाल नसकिदै अमेरिकामा अनुमति दिने तयारीमा लागेको र निर्वाचनलाई ध्यानमा राखेर गर्न लागिएको बताइएको छ । उम्मेदवार समेत रहेका राष्ट्रपति ट्रम्पले निर्वाचन अघि अमेरिकामा भ्याक्सिनको सुनिश्चितता गरेर मतदान शुरु होस् भन्ने चाहेको र यसले आफुलाई जित्न फाइदा हुने बुझाई रहेको विश्लेष्ण गरिएको छ ।
यसैबीच अमेरिकी भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चेतावनी दिदै ट्रायल अघि नै भ्याक्सिनको अनुमति दिएमा यसले भ्याक्सिन निर्माणको प्रक्रियामा असर गर्ने चेतावनी दिएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलेर्जी एण्ड इन्फेक्सीयस डिजीज सेन्टरका निर्देशक समेत रहेका डा. फाउचीले भ्याक्सिन सुरक्षित र प्रभावकारी प्रमाणित नभई अनुमति दिने र वितरण गर्ने कार्यले अन्य भ्याक्सिनको विकास प्रक्रियालाई नोक्सान गर्ने भन्दै यस्तो गर्न नहुने बताएका छन् ।
रोयटर्सका अनुसार फाउचीले यो निकै गलत आइडिया भएको बताउदै प्रमाणित नभएको भ्याक्सिन बजारमा आइसकेमा अन्य भ्याक्सिन बन्न नसक्ने बताएका छन् । उनले यस्तो सम्भावित खतरा मोल्न नहुने बताएका छन् । उनले भ्याक्सिनको विकास प्रक्रियामा कुनै पनि तहबाट हस्तक्षेप हुनुहुदैन भन्ने आफ्नो मान्यता रहेको बताउदै पूर्ण रुपमा सुरक्षित र प्रभाकारिता प्रमाणित भएपछि मात्र अनुमति दिने र वितरण गर्ने काम गरिनुपर्ने बताएका छन् ।