रसुवा – कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।
नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोवार अगाडि बढाउने सहमति भएको हो ।
दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
चीनबाट आयात गरिने मालवस्तु दैनिक रूपमा १५ कन्टेनरसम्म रसुवागढीको मितेरी पुलमा ल्याइने छ । नेपाली कन्टेरमा सामान लाद्न कोभिड-१९ नियन्त्रण नीतिको मापदण्ड पूरा गरेका कामदार मात्र पठाउन चिनियाँ अधिकारीले आग्रह गरेको बताइएको छ ।
एक दिनमा १५-१५ कामदार, चालक र कन्टेनर मात्र मितेरी पुलको सीमामा पठाउन ती अधिकारीले आग्रह गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
केरूङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेकामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँंगै गत माघ १५ गतेदेखि बन्द भएको थियो । कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जनाइएको छ ।