ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ अर्ब १५ करोड ६२ लाख ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वजनिक गरेका हुन् ।
महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।
बजेटमा कर सम्बन्धी नयाँ कार्यक्रमहरु पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ । यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ ।
बैंकमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्न लगायतका कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नै पनि नीति लिने महानगरले बताएको छ । यसका लागि सम्बन्धित कार्यालयहरुसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।