टोकियो – कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा परेको आर्थिक अप्ठ्यारा कम गर्न जापानले दोस्रो पूरक बजेट पारित गरेको छ । जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको हो ।
बजेट खर्च ३ सय १९ खर्ब येन (२ खर्ब ९६ अर्ब डलर) रहेको छ । सरकारले बुधबार पारित गरेको बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण समेटिएको छ ।
स्वास्थ्य सेवा प्रणालीलाई टेवा दिने स्वास्थ्यकर्मीहरु र कोरोना भाइरसको महामारीको प्रभावमा परेकाहरुलाई सहायता जारी गरिनेछ ।
बजेटले कम्पनीहरुको वित्तीय आधार मजबूत बनाउन र असुरक्षित, ब्याजदरहित कर्जालाई टेवा दिनेतर्फ ध्यान दिएको छ । ।
यसमा आगामी ६ महिनाको अवधिका लागि पसलहरुको दुई तिहाई भाडा तिरिदिनका लागि १८ अर्ब ८० करोड डलर समेत छुट्टयाइएको छ ।
बजेट कामबाट बिदाको भत्ता स्वोरुप दिइने दैनिक ८ हजार ३ सय ३० येनलाई बढाएर दैनिक १५ हजार येन दिन प्रयोग गरिनेछ ।
त्यस्तै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि २ लाख येन र बिरामीहरुलाई भर्ना गरि उपचार गर्ने हस्पिटलमा कार्यरत हरेक कर्मचारीहरुका लागि १ लाख येन दिइनेछ ।
कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।
यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।
घर परिवारलाई प्रत्यक्ष नगद वितरण र महामारीको तत्कालीन प्रभाव कम गर्न जापानले अप्रिलमा १ हजार १ सय ७० खर्ब येनको स्टिमुलस कार्यक्रम ल्याएको थियो ।