काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दै छन् ।
निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।
वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौँ फर्कने तालिका छ ।
दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको हो । वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी-काठमाडौँ उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो ।
मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँ-सिड्नी साँढे १२ घण्टाको उडान हुनेछ ।
नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले जनाएको छ । काठमाडौँ-बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।
निगमले यसअघि चीनको साङ्घाइ हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।
निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड-१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन ।
अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ ।