Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – जनजाती आन्दोलनका अगुवा एवं मानवअधिकारकर्मी नेता पद्मरत्न तुलाधरले संघीयताले देश टुक्रिन्छ भन्ने भ्रमका कारण संबिधान सभाको अवसान भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘संघीयताले त देश थप मजबुत हुन्छ, उदाहरणको लागि नजिकको छिमेकी मुलुक भारत हेरे हुन्छ त्यहाँ बिगत ४० बर्षदेखि २८ राज्य रहेका छन् तर भारत टुक्रेको छैन ।’ टोकियोमा आइतवार आयोजित १८ औं बिश्व आदिबासी दिवस समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता तुलाधरले उक्त धारणा राख्नुभएको हो ।

जनजातीहरुसंग सम्बन्धित संघीयता जस्तो सबैभन्दा महत्वपूर्ण बिषयलाई दलहरुले अन्तिम घडिमा बहस गर्नु त्रुटीपूर्ण भएको र त्यसैका कारण संबिधान सभाको अवसान हुन पुगेको उहाँको धारणा थियो । दलहरु र तिनका नेताहरुले जनतामा भ्रम फिंजाएर संघीयताजस्तो संबेदनशील बिषयमा ढिलो बहस शुरु गरिनुले संबिधान निर्माणका अधिकांश कार्यहरु समाप्त भएर पनि पूर्ण हुन नसक्दा संबिधान सभाको अवसान हुन पुगेको र मुलुक जटिल परिस्थितिमा फसेको उहाँको भनाई थियो ।

’संघीयताको सवालमा छलफल नै नगरी कुरै नबुझी केहि राजनैतिक दलहरुले यो हुँदैन र त्यो हुँदैन भन्नु गलत हो’ – नेता तुलाधरले भन्नुभयो – ’यस्ता भ्रम फैलाउने काम भएबाट कुनै न कुनैरुपमा जनजाती आन्दोलन पनि प्रभावित हुन पुगेको छ, यसतर्फ हामी सबै सजग र सतर्क हुनु जरुरी छ ।’

एक फरक प्रसंगमा जापानमा रहेका नेपालीहरुलाई लक्षित गरी समयको महत्वप्रति सजग रहन संकेत गर्दै प्रमुख अतिथि नेता तुलाधरले भन्नुभयो – ’ढिलोगरी कार्यक्रम शुरु गरिनु, आसन ग्रहणका नाममा घण्टौ समय खर्च गरिनु, वक्ताहरुले निर्धारित बिषय र समयभन्दा बाहिर गएर बोल्नुजस्ता ठ्याक्कै नेपालकै समस्या जापानमा पनि रहेको पाईयो, यसमा सुधारका लागि क्रमभंग हुन आवश्यक छ, राम्रो कुरा बाहिरबाटै सिक्ने हो।’

नेपाल आदिबासी जनजाती महासंघ जापानले आयोजना गरेको बिश्व आदिबासी दिवस समारोहका बिशेष अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आदिबासी दिवसको उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै मुलुकको बिकासका लागि जापान र जर्मनीजस्ता दोश्रो बिश्वयुद्धमा ध्वस्त भएका मुलुकबाट नेपालले धेरै सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो- ’यी मुलुकहरुले अत्यन्त कम समयमा चमात्कारिक हिसाबले बिकासमा फड्को मार्नुको पछाडि कार्यगत एकता, इमान्दारिता र मेलमिलाप नै महत्वपूर्ण रहेको पाईन्छ, यी मुलुकहरुबाट नेपालले सिक्न आवश्यक छ । एक अर्को प्रसंगमा राजदूत डा. भट्टराईले जापानमा पछिल्ला समयमा नेपाली आत्महत्याको बढ्दो शृँखलाप्रति चिन्ता ब्यक्त गर्दै यस्ता घटनाहरुबाट राम्रो सन्देश नजाने र परिवार तथा समाजको मनोवल गिराउने हुँदा यसप्रकारका घटना हुन नदिन सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका सल्लाहकार समेत रहेका १८ औं बिश्व आदिबासी दिवस समारोह आयोजक समितिका संयोजक डा. दिनेश मानन्धरको स्वागत मन्तब्यबाट शुरु भएको सो समारोहमा अन्य अतिथिहरु एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, महासंघका सल्लाहकार रेखब्लोन तामाङ, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचनलगायतका जापानका जनजाती अगुवाहरुले आदिबासी जनजाती आन्दोलनका विविध पक्षहरुका बारेमा प्रकाश पार्दै जनजातीहरुलाई अधिकार सम्पन्न बनाई संघीयतामा जानुको अर्थ देश टुक्रयाउनु हुनै नसक्ने धारणा राख्नुभयो ।

सामाजिक, साँस्कृतिक र भौगोलिक विविधताले भरिएको सानो मुलुक नेपालको कुल जनसँख्याको ४० प्रतिशत हिस्सा ओगट्ने आदिबासी जनजातीहरु आधारभुत अधिकारबाट अझै वञ्चित रहनुपरेको अवस्थाले नेपालमा अझै साँचो अर्थमा प्रजातन्त्रको प्रत्याभुति हुन नसकेको वक्ताहरुको भनाई थियो ।

आदिबासी दिवस समारोहमा अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठलगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आदिबासी दिवसको उपलक्षमा शुभकामना मन्तब्य दिनुभएको थियो ।

समारोहमा तामाङ समाज जापानद्वारा प्रकाशित अमृत योञ्जन तामाङले लेख्नुभएको ’बहुभाषिक शिक्षाका कुरा’ नामक पुस्तकको प्रमुख अतिथि तुलाधरले विमोचन गर्नुभयो । यसैगरी आदिबासी दिवस समारोहलाई प्रायोजन गरी सहयोग गर्ने टिबिआई ग्रुप, जेएमई, जेनिथ मनि ट्रान्सफर, सिटी एक्सप्रेसलगायतका ब्यवसायिक कम्पनीका प्रतिनिधिहरुलाई खादार्पण गरी सम्मान पनि गरिएको थियो ।

आयोजक सँस्थाका अध्यक्ष ध्रुब भट्टचनको सभापतित्वमा सम्पन्न भएको सो समारोहको महासचिव पासाङ शेर्पाले सञ्चालन गर्नुभएको थियो ।
समारोहको अन्तमा, सभापति भट्टचनले कार्यक्रम सफ़ल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गर्नुहुंदै समारोहको समापन गर्नुभएको थियो ।   ***

 

 

तपाईको प्रतिक्रिया