बेइजिङ – चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् ।
योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । त्यस्तै एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
नेपालमा पनि कोरोना भित्रिएको पुष्टि
‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो ।
नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन । थप नेपालीमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।
के हो कोरोना, कसरी बच्ने ?
चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र शहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अस्ट्रेलियामा समेत पुगेको छ ।