Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नुवकोटको विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको ५५ वर्षा पुरानो झोलुङ्गे पुल आफूखुशी बेचेका आरोप लागेको छ ।

विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लागेको हो । २०२१ सालमा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका वासिन्दा दुखित बनेका छन् ।

कबाडीलाई शुरुमा ३ लाखमा बेच्ने हल्ला भएको र पछि  ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । चित्रकार भन्छन्, ‘पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’

बेलकोटगढी-८ का वडाध्यक्ष पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र  ३५ हजार भने विदुर-५ का वडाध्यक्षले ‘तपाईँको भाग’ भनेर पठाएको जानकारी दिए । उनले बेलकोटगढी नपा-८ र विदुर नपा-५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको पनि बताए । त्यस्तै विदुर-५ का वडाध्यक्ष शिवकुमारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा-८ का वडाध्यक्ष पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे । ‘गल्छी-त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचेका हौँ,’ उनले भने, ‘कबाडीलाई ७० हजारमा बेची ३५-३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ ।’

यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ । विदुर नगरपालिका प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।

तपाईको प्रतिक्रिया