Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – धेरैले सोच्छन्, ‘भात खाए भुँडी लाग्छ । सकेसम्म बेलुकी भात नखाऔं ।’ तर, यो भ्रम मात्र हुन सक्छ !

हालैको एक अन्तर्राष्ट्रिय अध्ययनले भात खानेभन्दा नखानेहरूको भुँडी बढी लागेको देखाएको छ । यो अनुसन्धानमा मुख्य खानाका रूपमा भात र अरू खाद्यपदार्थ खाने संसारभरका १ सय ३६ भन्दा बढी देश समेटिएका थिए । यसअनुसार भातलाई मुख्य खानाका रूपमा खाने देशहरूमा भुँडी लाग्ने समस्या नपाइएको अध्ययनको निष्कर्ष छ ।

बेलायतको युरोपियन कंग्रेस अन ओबेसिटीले गरेको अध्ययन जापान, क्योटोस्थित डोशिसा वुमेन्स कलेज अफ लिबरल आर्ट्सका प्राध्यापक तोमोको इमाइको नेतृत्वमा भएको थियो । भुँडी लाग्ने तथा अधिक मोटो हुने समस्या अमेरिकी र युरोपेली मुलुकमा बढी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार करिब ४० प्रतिशत अमेरिकी मोटोपनाको समस्यासँग जुधिरहेका छन् । जापानमा भने ४.३ प्रतिशत मात्र छन् ।

एसियाली मुलुकमा यो समस्या अमेरिकी र युरोपेलीको दाँजोमा एकदमै कम छ । यसको कारण उनीहरूले खाने मुख्य खाना भात नै भएको अध्ययनको निचोड छ । ‘जुन देशमा मुख्य खानाका रूपमा भात खाइन्छ, त्यहाँ भुँडी लाग्ने समस्या अन्तको तुलनामा एकदमै कम छ,’ प्राध्यापक तोमोकोले भनिन्- ‘त्यसैले हामी भन्न सक्छौं, एसियाली मुलुकमा खाइने भातले मोटोपनासँग जुध्न मद्दत गर्छ ।’

पश्चिमा मुलुकमा भुँडी लाग्ने र मोटोपना समस्या चरम छ । दिनानुदिन बढ्दो समस्याले उनीहरूलाई गाँजिरहेका बेला एसियाली मुलुकमा भने यो त्यति ठूलो समस्या होइन । अनुसन्धाताहरूले मान्छेले कति भात खाँदा कति मोटोपना कम गर्न सकिन्छ भनेर गणना गरेका छन् । संसारमा अहिले जसरी मोटोपनाको समस्या बढिरहेको छ, त्यो कम गर्न मान्छेले अरू कुराको साटो भात खायो भने कम हुने उनीहरूको अनुमान छ ।

एक जना मान्छेले दिनमा ५० ग्राम मात्र भात खाए पनि संसारबाट एक प्रतिशत मोटोपनाको समस्या कम हुने उनीहरूले बताएका छन् । यसको अर्थ, अहिले संसारमा ६५ करोडभन्दा बढी मान्छे मोटोपनाको समस्यासँग जुधिरहेका छन् । उनीहरूले दिनमा ५० ग्राम भात खान थाले यो संख्या करिब डेढ करोडले कम हुनेछ । ‘संसारमा मोटोपनाको समस्या बढ्दो छ,’ प्राध्यापक तोमोकोले भनेकी छन्, ‘भात खाने बानी गर्ने हो भने पश्चिमा मुलुकमा यो समस्या कम हुँदै जानेछ ।’

यसको मतलब हामीले दिनमा छाकैपिच्छे दुई थाल भात खायौं भने पनि मोटाउँदैनौं भन्ने होइन । ५० ग्राम भनेको एक सानो कचौरा बराबर हो । बेलुकी भात खाँदा मोटाइन्छ भनेर पाँच/छ वटा रोटी खानुभन्दा अलिकति भात खाँदा फरक पर्दैन । एसियाली मुलुकमा खाइने भातको परिमाण दैनिक औसत १ सय ५० ग्राम हो ।

प्राध्यापक तोमोकोको टोलीले १ सय ३६ वटा विभिन्न देशका मान्छेले दिनमा कति ग्राम भात खान्छन् भन्ने अध्ययन गरेको थियो । उनीहरूले शरीरको तौल सूचक पनि हेरेका थिए । त्यसअनुसार क्यानडा, अमेरिका, स्पेन लगायत दर्जनौं देशका मान्छेले दिनमा १९ ग्रामभन्दा कम भात खाने देखिएको थियो । जापानी तथा अरू एसियाली मुलुकमा भात खाने चलनले पश्चिमा देशका तुलनामा यहाँका मान्छेमा मोटोपनाको समस्या कम पाइएको छ ।

भातले मोटोपना कसरी कम गर्न सक्छ त भन्ने विषयमा प्राध्यापक तोमोको भन्छिन्, ‘भातमा धेरै फ्याट हुँदैन। यसमा धेरै फाइबर, पोषणतत्वहरू र वनस्पतिमा पाइने अरू तत्व हुन्छन् । यस्तो भात खाँदा धेरै बेरसम्म अघाएको अनुभूति हुन्छ। पेट आडिलो हुने भएकाले मान्छेले बारम्बार खाइरहने समस्या हुँदैन ।’

तपाईको प्रतिक्रिया