काठमाडाैं – प्रहरीले मानवअंग प्रत्यारोपण केन्द्रमा ८ दिनदेखि अनसन बसिरहेका ११ नर्सलाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान ८ बजे आफ्ना सहकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको केन्द्रमै कार्यरत नर्स रिम्सा कार्कीले बताइन् । प्रशासनले आफ्ना मागको सुनावाइ नगरेपछि नर्सहरूले अस्पताल ठप्प पारेका थिए ।
अस्पतालमा सेवा लिन आउने मृगौलाका बिरामीहरूको एक्सरे लगायतका परीक्षणहरू केन्द्रमै राखेर बिरामीका गुनासोको व्यवस्थापन गर्न, नर्स र बिरामीको अनुपात मिलान गर्न, अस्पतालको जनशक्तिका लागि लोकसेवा खुलाउन र स्थापनाकालदेखि कार्यरत नर्स तथा कर्मचारीलाई प्राथमिकता दिन, ठेकेदारी प्रथाद्वारा कुनै पनि कर्मचारी नियुक्त नगर्नलगायतका ६ बुँदे माग राखेर उनीहरू वैशाख ११ देखि आन्दोलनरत छन् ।
नर्स विक्की शेर्पा भने आमरण अनसन बसेकी छन्। उनको स्वास्थ्य जटिल बन्दै गएपछी आफूहरूले अस्पताल ठप्प पारेको नर्स कार्कीले बताइन् । त्यसपछि प्रहरीले अनु शाही, शान्ति कुमाल लगायत ११ लाई पक्राउ गरेको हो ।