Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन गरिने भएको छ । हालै एक पत्रकार सम्मेलनमार्फत प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले पुस्तक अभियानलाई कार्यान्वयग गरिने जानकारी गराएका हुन् ।

हुम्ला र मुगुमा कारागार नभए पनि बाँकी आठ जिल्लाका कारागारका लागि आठ हजार ३ सय ८८ पुस्तक संकलन गरिएको शाहले जानकारी दिए । ‘प्रदेशस्तरबाट चार हजार २ सय ८२ र जिल्लास्तरबाट चार हजार १सय ६ पुस्तक संकलन गरिएको छ’ – उहाँले भन्नुभयो । संकलित पुस्तकबाट यही चैत २३ गते १० जिल्लामा एकसाथ पुस्तकायलय स्थापना गरिनेछ । पुस्तकालयको सुर्खेतमा सामाजिक विकासमन्त्री दल रावलले उदघाटन गर्ने कार्यक्रम छ । हाल रु दुई लाख बराबरको पुस्तक संकलन गरिएको छ । प्रदेशस्तरबाट रु नौ लाख ६८ हजार तथा जिल्लास्तरबाट रु ११ लाख ४० हजारको पुस्तक संकलन गरिने छ । नेपाल लाईब्रेरी फाउण्डेसन, जर्नल संरक्षण मञ्च र अञ्जु पन्त फाउण्डेसनले पनि पुस्तक सहयोग गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला र डोल्पा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक राखिएको छ । हुम्ला र मुगुमा कारागार भवन हस्तान्तरण नभएकाले प्रशासन र प्रहरीकै कार्यकक्षमा पुस्तकालय स्थापना गर्नेगरी तयारी भइरहेको छ । अभियानअन्तर्गत प्रदेशमा १७ सदस्यीय ‘कारागारलाई किताब अभियान’ समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा पनि उपसमिति गठन भएका गरिएको छ ।

यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ । कैदीसँग भेट्नका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार नयनराज पाण्डे र कवि नवराज पराजुलीको उपस्थिति रहने प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो ।

त्यसैगरी दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम पश्चिममा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको सहभागिता रहनेछ । जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, जुम्लामा शिवानीसिंह थारु तथा डोल्पामा अमर न्यौपानेको उपस्थित रहनेछ ।

कर्णालीका कैदीमा पठनीय सोचको विकास गर्न र पुस्तक पढाइमा प्रोत्साहन दिन कारागारभित्रै ‘बुक क्लब गठन’ गरिने भएको छ । कैदीले आफूले पढेर अरुलाई पढ्न उत्पेरित गरुन भन्ने उद्देश्यले गत मङ्सिरदेखि सो अभियान थालेको प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो । ‘हामीले पुस्तकालय खोल्ने मात्र होइन, कारागारका कैदीमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्छौँ ।यसका लागि बुक क्लब गठन गरिएको हो ।’ कैदीले पढेका पुस्तकमाथि हरेक शनिबार बहस गरिनेछ । पुस्तकका विषयमा छलफल समेत गराइने उहाँले बताउनुभयो । पुस्तक अध्ययन गरी उत्कृष्ट सोचको विकास गर्ने कैदीलाई किताब नै दिएर पुरस्कृत गरिनेछ ।***

तपाईको प्रतिक्रिया