काठमाडौँ – सांस्कृतिक पर्व तीजका अवसरमा गाउने गीतलाई लक्षित गरी आयोजना गर्दै आएको ‘तीज म्युजिक अवार्ड’ का लागि गीत दर्ताको आव्हान गरिएको छ ।
छायाँछवि क्रियसनले आयोजना गर्दै आएको तीज म्युजिक अवार्डको यो पाँचौ संस्करण हो । हरेक वर्ष तीजको अवसरमा आठसयदेखि एकहजार गीत बजारमा आउँछन् । त्यसमध्ये उत्कृष्ट गीतका सर्जक, गायक, सङ्गीतकार, भिडियो छायाँङ्कनलगायतलाई पुरस्कृत गरिदै आएको छ ।
विगतमा तीजका गीत चेलीले मनका विरह पोख्न, घरपरिवार समाजले दिएको दुःख पीडा पोख्नका लागि गाउँने किसिमका हुन्थे भने अहिले यसको भावमा परिवर्तन आएको छ, समयसँगै भएको परिवर्तनले तीजको गीतलाई पनि व्यवसायिक बनाएको छ ।
गायक÷गायिकाले एउटा गीतबाटै आफ्नो पहिचान बनाउने अवसर पनि प्राप्त गर्न थालेका छन् । यिनै गीत सिर्जना/गायनका लागि हौसला मिलोस् भन्ने उद्देश्यले छायाँछवि क्रियसनले तीज म्युजिक अवार्डको आयोजना गर्दै आएको क्रियसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिनुभयो ।
आगामी भदौ २५ गते राजधानीमा कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार तीज गीत स्रष्टा, गायक, गायिका, सङ्गीतकारको हौसला, प्रोत्साहनका लागि आयोजना गरिने सो म्युजिक अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिनेछ ।