Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

 

 

पूर्खाले घ्यू खाए

तर पनातिको हात गनाएन

सारा जंगल नै फडानी गरेर घर बनाए

आलडाँडाँ र गहतेबारी बनाए

तर यो मायानाथको पनाति

अतिवादी पूर्खाको सत्यवादी सन्तति बन्छु भन्छ ।

जिजुबाले पाँचवर्षे जिजूमा बिहे गरे रे

माघे पँधेरो बनाए रे

झगरे र खाङसाँङ सबैतिर ससुराल बनाए रे

वारि र पारिका आफन्त चिन्न सकेनन्

छोराछोरी पढ्न दिएनन्

पढेपछि मान्छे बिग्रिन्छ भनेर

घाँस मात्रै कटाए रे ऊ बेला

जिमथली, चाल्नेखोला र सुनकोशीको

पानी गाग्रीमा बोक्दा बोक्दै

जन्तरी फुपू झापातिर लब’ म्यारिज गरिछन्

नाबालिग फुपूहरूको बिहे गर्दा

फुपाजूको खेतको गरो मात्रै हेर्थे रे

अनि खोया बनेको हाम्रा फुपू र काकाहरूको

बतासे घरको सानो पिँडीमा मायानाथले

बुढेसकाल बिताएछन्

तर जीवनसँग कहिल्यै डराएनन् रे मायानाथ ।

आफ्ना रूपवतीहरूलाई सुनकोशीको

खहरे भेल सम्झेर उनले जात्रा र पर्वमा

‘रम’ र ‘रउस’ गर्न कहिल्यै चुकेनन्

ठूली जिजूमाको घुडाँमूनिको ठूलो खत

र ओखलढुंगे मायानाथको सम्वन्ध प्रगाढ छ

उनको प्रतापी त्यो ढुंगाको चोटले

जिजूमा दूईतीन वर्ष थलिनु भएछ

प्रेम र युद्दमा सब कुरा जायज हुन्छ भनेर

पछि फेरि सम्झौता गर्नु भएछ

मायानाथको पनाति उसको

जिजुबा जत्तिको आधुनिक त हुन नसक्ला

पूर्खाको लुटिएको खुशी फर्काउँछु भन्छ

अतिवादी पूर्खाको सत्यवादी सन्तति बन्छु भन्छ ।

( कविको २०१७-१२-३०मा ‘मनोहराको छेउ’ कविता संग्रह प्रकाशित भएको छ ।)

तपाईको प्रतिक्रिया