बिहानै के लेखौं लेखौं झै भयो। हिजो साझ डिप्रेसन भएका मान्छेहरुले नुहाउन अल्छी गर्छन भन्ने पढेको थिए। मैले हप्ता दिन यता नुहाएको छैन। गर्मीमा पनि नुहाउन उत्तिकै अल्छी गर्छु,अहिले त झन जाडो र चिसोको बहाना छदैंछ किन नुहाउँथे?हप्तादिनसम्म नुहाउन अल्छी गर्ने मान्छेलाई हिजो साँझ पढेको डिप्रेशनको कुरोले झस्काएको छ। तसर्थ बिहान उठ्दा बित्तिकै केही लेखौं लेखौं भएको छ तर डिप्रेशन भएको छैन भनेर आफुलाई प्रमाणित गराउन नुहाउन जाउँ झै लागेकै छैन।
मेरो अनुहार झोक्राएको छैन डिप्रेशनले,मोवाईलको क्यामेरामा हेरेको छु। मरुँमरुँ झै त झन लाग्दै लाग्दैन। केही तनाव नै मान्दिन जिन्दगीमा। जे पर्छ त्यही टर्छ भनेर सोचेको हुन्छु प्राय। टोलाएर पनि कहिल्यै बस्दिन,डिप्रेशन हुँदै होइन।आँखा उस्तै ठुला छन। हँसिलो अनुहार उस्तै छ बरु ठूलो निधारको क्षेत्रफल झन बढ्दैछ अचेल कपाल खुइलिएर। ठूलो टाउको,लामो नाक र उस्तै ठुला कानहरु मेरो हिजो,आज र भोलीको आकृती हो। अनुहारका केही कोठीहरु,केही चोटका खतहरु कहिल्यै पुरिन्नन पुरिएनन तसर्थ सम्झिन सजिलो भएको छ कहिलेकाही भेटिने मान्छेहरुलाई। बरु आँखा छेउछाउको छाला रवरजस्तै तन्किने र खुम्चिने गर्छन मुस्कुराउँदा तब मुस्कानको आयु सकिदै गएजस्तो लाग्छ। गालामा कतैकतै मासुका धर्साहरु जम्मा हुन्छन चाउरिएर तब आफ्नो उमेरको हिसाबकिताब सम्झिन मन लाग्छ।
दाँतका रङहरु परिवर्तन भएजस्ता देखिन्छन तब केही चपाउँदा होशियार हुन्छु। ओठको रङमा कालो थपिदैंछ,चुरोटको तातोले। दश बर्षयता निरन्तर चुरोटको धुँवाले पोलेर बिग्रेको ओठसँग कुनै क्षमता छैन आकर्षणको।अचेल सौन्दर्यता र आकर्षण शब्दहरु क्षणिक हुन भन्ने सोच्छु। कतैकतै टाउकोका रौंहरु सेता देखिन्छन। रौंहरुका जराहरुमा देखिने चाँयाले बेलाबेलामा कपाल चिलाउँछ,कन्याउछु।कपाल कोर्ने बानी छैन।यसपाली लामो भैसक्यो कपाल,काटेको छैन।जति बढ्छ,उत्ति नै घुम्रिन्छ कपाल। दार्ही उस्तै देखिएका छन झुस्स,जथाभावी उम्रेका बाक्ला र तीखा काँडाजस्ता दर्हा। केही मुखतिर फर्केका केही नाकतिर,केहि चुस्स बिझ्ने खालका,केही गालातिर फर्केका। मुखको सुरक्षामा खटिएको सिपाईहरुको समुह जस्ता दार्हीजुँगा कतैकतै फुलेजस्ता देखिन्छन। तसर्थ डरलाग्दा छन। म अझै बूढो हुँदैछु। बूढो हुँदै गर्दा झन नुहाउन अल्छी लाग्छ,चिसो लाग्छ कि जस्तो पनि हुन्छ,किन राम्रो देखिनु पर्यो अब भन्ने पनि लाग्छ। पानी देख्दा डर लाग्छ। गज्जवको डरले बितिरहेको बर्तमान उस्तै गज्जवको छ,होस र भैरहोस।
कोठामा ऎना छैन,काईयो छैन,तेल,जेल र क्रीमहरु छैनन्। किन्ने रहर पनि जागेन। आबश्यकता महशुस पनि भएन। कतै बाहिर निस्किहाल्नु छ भने मुख धुने बानी छ,मुख धुँदा कपाललाई पानीले मुसार्ने बानी पनि छ। त्यसरी मुसारेको टाउको बोकेर म शहरतिर घुम्छु। शहरतिर जताततै देखिने सीसाहरुमा अनुहारको आकृती हेरेर मुस्कुराउँछु तर कपालको स्टाईलले चित्त बुझ्दैन,फेरी मिलाउँछु तर मिल्दैन। नमिल्नुसँग कुनै थप गुनासो थप्दिन। बाटोमा कतैकतै सेल्फी फोटाहरु खिच्छु।जथाभावी,जहीँतही उभिएर सेल्फी खिच्न लाज लाग्दैन। फोटाहरुले पनि चित्त बुझ्दैन अनुहार,खिच्छु डिलेट गर्छु। तैपनी नराम्रो छु झै कहिल्यै लाग्दैन अनि मुस्कुराउँछु। अरुले नराम्रो,फोहोरी भन्छन कि भन्नेपनि लाग्दैन। ज्याकेटको कलर धमिलिएको छ मैलिएर,धोएको छैन। आफ्नै ज्यान पखाल्न अल्छी गर्नेले कसरी ज्याकेट धोओस्। एक जाडोमा एउटा ज्याकेटको सत्यनास हुन्छ पानीमा नपखालिएरै।चिन्दै नचिनेका मान्छेहरुले केही भन्दैनन,चिन्नेहरु कमै भेटिन्छन वा भेटिदैं भेटिन्नन।भेटिए पनि अंगालो हालेर आत्मीयता साट्दैनन। कोही हात मिलाउँछन,कोही आँखाहरु,कोहि बोल्दै बोल्दैनन,नदेखेझै पनि गर्छन। नबोल्दैमा दु:ख पनि लाग्दैन। मलाई पर्फिमको गन्ध पटक्कै मन पर्दैन,गनाउँछ तर कोहि धेरै नै धसेर हिड्छन,ठसठसी गनाउँछन।तिनै मान्छेहरुसँग नजिक हुँदा झोक चल्छ। बरु ठस्स पसिनाको गन्ध नाकमा ठोकिएको रुचाउँछु। तर पसीनाको गन्ध बोकेर हिड्न रुचाउन्नन मान्छेहरु।उस्तै कोहि मजस्तै मान्छेहरु आनन्दले गफिएर मुस्कुराउँछन,म अझै मुस्कुराउँछु। म पसीनाको गन्ध मन पराउँछु। पसीनाको गन्ध रुचाउनेहरु परिश्रमी हुन्छन,म त्यस्तै परिश्रमी छु।
कोठामा जथाभावी फालिएका मैला कपडाहरु छन। टेबुलमा लेख्दै च्यात्दै गरेका कागजका टुक्राहरु छन। के लेख्नु,उहीँ खर्चपानीको हिसावकिताव,सामान किन्दाका बिलहरु अनि चुरोटका बट्टाहरु।अर्को छेउतिर चुरोटका ठुटाहरुको सेतो र मैलो टोकरी छ। भुईको कार्पेटमा चुरोट ठोसेर निभाउँदाका काला र गोला प्वालहरु छन। भित्ताहरु उस्तै रंगीन छन तर माख्खिएर धैसिएका। चुरोटसँगको सम्बन्ध ज्यादै प्यारो छ,बर्षौयता। युरोप आएपछी शुरुशुरुमा काम नपाउँदा पैसो नभएर बाटोमा फ्याकिएका चुरोटका ठेट्नाहरु टिपेर सल्काएको छु जिन्दगी। सिरानीमा कतैकतै चुरोटले डढेका प्वालहरु छन। सिरक र तन्नाहरु पनि उस्तै छन थोत्रा,फोहोर र प्वाल परेका बर्षौसम्म नधोएजस्ता। चुरोटको गन्ध मन पार्नेहरुले मेरो ओछ्यान मन पार्छन होला तर मेरो ओछ्यानमा आजसम्म कहिल्यै अरु कोही निदाएको छैन,ढल्केको पनि छैन,देखेको पनि छैन।
मेरो कोठामा कोही आएको पनि छैन। कसैलाई ल्याउने ईच्छा पनि छैन। कोठामा आउने रहर पनि कसैले गरेको छैन। मलाई कोठामा यहीँ चुरोटको बास्नादार हावाले मात्रै मिठो निन्द्रा लाग्छ। म राती अबेरसम्म जाग्छु,बिहान अबेरसम्म निदाउँछु।अन्तै गएर रात बिताएको छैन,बिताउन सक्दिन जस्तो पनि लाग्छ,निदाउँन पनि नसकुँला। वातावरण बिग्रेपछी कसरी निदँ आउँला र खै? जीवनसँग केही गुनासो छैन। एक्लै बस्नुको आनन्द बेग्लै हुन्छ। एक्लै डुल्नु र एक्लै बोल्नुको आनन्द अझै बेग्लै हुन्छ।युरोपमा छु। हजारौं नेपाली युवाहरु युरोप आउने सपना देख्छन,संघर्ष गर्छन। काठमाडौंमा भौतारिएका छन,हिजो म भौतारिएजस्तै। आज मसँग त्यो सपना छैन,त्यो संघर्ष छैन,त्यो छट्पटी छैन।
हप्तादिनमा दुई दिन बिदा बस्छु। बिदाका दिनहरु उस्तै भब्य छन। आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँचिरहेछु। मन जे सोचोस्,कोठा जस्तोसुकै होस्,पेटभित्रका मेसिनहरु जतिसुकै बिग्रुन,कपाल अझै खुइले खुइलोस्,शरीरमा अझै जाडो लागे लागोस्,ज्याकेटको कलर भिन्दै देखिए देखियोस्। जिन्दगी सडकछेउका गल्लीहरुमा फ्याकिएका चुरोटका ठेट्नाहरुजस्तै हो,भोलि कसैले अभावमा फेरी टिपेर धुँवाजसरी उडाउन पनि सक्छ,कुल्चिएर हिड्न पनि सक्छ। तसर्थ जिन्दगीमा गुनासो नगरेरै बाँचिन्छ,गुनासो नगरेरै मरिन्छ।