Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो- नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईयो ।

साँगीतिक कार्यक्रममा अतिथि कलाकारत्रय खड्ग गर्बुजा, जितु नेपाल र मुना थापाको प्रमुख आकर्षण रहेको थियो भने उनीहरुलाई मनबहादुर थापा, युवराज आचार्य, लिलकृष्ण पुन, टकप्रसाद पुन, लिलकृष्ण पुन, गम्भीरसिंह सिंथानी लगायतका स्थानिय कलाकारहरुले साथ दिएका थिए ।

नेपालीगुरु फुर्वा लामाको पूजापाठबाट शुरु गरिएको २५५६ औं बुद्धजयन्ती समारोहको प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, बिशेष अतिथिहरु एनआरएन आइसीसी सदस्य रोविन्द श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र समारोहका सभापतित्व गरिरहेका आयोजक सँस्थाका सहअध्यक्ष पासाङ शेर्पाले सामुहिकरुपमा कार्यक्रमको मुलब्यानर खोलेर उदघाटन गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै गुरुङले सगरमाथा र बुद्धको जन्मस्थल नेपालको पर्यटन क्षेत्रका अत्यन्तै ठूला संभावना बोकेका स्थल भएकोले नेपालका यस्ता आईकनहरुको यथोचित बिकास गर्नका लागि अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण हुनेगरी फरक ढंगका कार्यक्रमहरु तय गरिनुपर्नेमा जोड दिए । यसैगरी बिशेष अतिथि नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मल्लले लुम्बिनी भ्रमण बर्षको सन्दर्भमा बुद्धजयन्तीको थप महत्वमाथि प्रकाश पार्दै बिदेशीहरुमा बिद्यमान बुद्धको जन्मस्थलबारेको भ्रम चिर्नका लागि लुम्बिनी भ्रमण बर्षभरिनै बिभिन्न कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोड दिए । यसैगरी अर्का बिशेष अतिथि एनआरएन आईसीसी सदस्य श्रेष्ठले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती मनाउने सन्दर्भमा लुम्बिनी भ्रमण बर्षलाईसमेत जोडेर अन्तरराष्ट्रिय समुदायको ध्यानलाई नेपालतिर जाने खालका सन्देश प्रवाह हुने कार्यक्रमहरु आयोजना गरिनुपर्नेमा जोड दिए । यसअघि आदिबासी जनजाती अभियानका अगुवासमेत रहेका आयोजक सँस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार केबि बुढा मगरले धार्मिक पर्यटनको ठूलो संभावना बोकेको बुद्धको जन्मस्थलबारे रहेको भ्रमलाई चिर्न शासकहरुको ध्यान पुग्न नसकेकोले सबैखाले सान्दर्भिक पहल र बहसलाई अगाडि बढाउँदै सम्बन्धित सबैमा सजगता, सचेतता एवं खबरदारीका लागि मिडियाजगतको महत्वपूर्ण भूमिका रहने बताए ।

२५५६ औ बुद्धजयन्ती समारोहका संयोजक ज्ञानबहादुर पुन मगरको स्वागत भाषण रहेको सो कार्यक्रममा नेपाल मगर संघ तोकाईका अध्यक्ष श्याम राना मगर, शेर्पा संघ जापानका महासचिव पेम्बा शेर्पा, थकाली सेवा समिति तोकाईका महासचिव योगेन्द्र शेरचन, एनआरएन तोकाईका प्रमिला सिग्देल, गल्कोट कल्याणकारी समाजका अध्यक्ष कृष्ण गौचन, म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्का लगायतका संघसंस्थाका प्रतिनिधिहरुको अन्य अतिथिकारुपमा उपस्थिति रहेको थियो । औपचारिक समारोहको आयोजक सँस्थाका सदस्य राजु राना मगर र अनौपचारिक साँगीतिक चरणको सचिव रमेश प्रधानले सञ्चालन गरेका थिए ।

मनबहादुर थापाको बाँसुरीको मीठो धुनसंगै शुरु भएको साँगीतिक कार्यक्रममा ’आफ्नै मन घाईते गराउँछु….’ लगायतका आफ्ना चर्चित गीतहरु पस्केर युवराज आचार्यले हल तताउन के पाएका थिए लगत्तै रंगमञ्चमा उत्रेकी मुना थापाले आफ्ना सुरिलो स्वरमा उनिएका लोकभाकाले हल गुञ्जायमान बनाउँदै ‘चिसो, चिसो हावा सरर…, यस्तै छ यो संसारको रित…., जवानीले बाटै दिएन…, आफैसंग शर्म लाग्छ…, रुमाल हल्लाई, हल्लाई…, तीते करेलीले…. जस्ता आधा दर्जन जति लोकगीत पस्केर नागोयाबासी नेपालीहरुलाई साँगीतिक तृष्णा मात्र मेटाईनन्, सबैलाई उठेर नाच्न बाध्य पारिन् ।

यसैगरी हास्यकलाकार जितु नेपालले आफ्नो हास्य मिश्रित ब्यङ्ग्यमा जलश्रोतको धनी देश भनिने हाम्रो मुलुकमा दैनिक १८ घण्टा लोडसेडिङको अन्धकारमा रुमल्लिनुपरेको पींडालाई बडो मार्मिक ढंगले शासकहरुप्रति तिखो घोचपेच गरे । उनले राष्ट्रप्रमुख र सरकारप्रमुख दूवै पदमा डाक्टर रहे पनि बिरामी परेर थला परेको मुलुकलाई वैद्यले पनि केहि गर्न नसकेको भन्दै चोटिला ब्यङ्ग्य कसे । नेपाली हरियो पासपोर्टप्रतिको बिदेशीहरुको दृटिकोण, नेपाली गीतसंगीत र फेशनमा भित्रिएका उरेन्ठेउला विकृति लगायत नेताहरु क्रमशः देउवा, कोईराला र पौडेलको क्यारिकेचर गर्दै नेपाली काँग्रेसभित्रको घरझगडा र आन्तरिक लफडाको उछिट्टो काढेर दर्शकहरुलाई हसाउनु हसाएर नेपाली राजनीतिमा नेताहरुप्रति खबरदारीको आवश्यकतामा जोड दिए ।

यसैगरी अर्का लोकगायक खड्ग गर्बुजाले ‘धौलागिरी काली सुसाउने…., सोरठी, वामरी फुलेको…., त्यो रानी बनको तीरतीरे धारो सालैजो…., हेर्दाहेर्दै साईलीले….’ जस्ता उनका थुप्रै लोकलहरीहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । उनका लोकसुसेलीहरुमा डुबुल्की मार्दै दर्शकहरुले धितमरुञ्जेल नाचे, रमाए र भावुक हुँदै आफ्नै गाउँघर र डाँडापाखाहरुमा रहेको अनुभूति गरे ।

अन्तमा गायिका मुना थापा मगरसंग स्थानिय कलाकारहरु टकप्रसाद पुन, गम्भीरंसिंह सिउथानी, लिलकृष्ण पुनलगायतले पालैसंग घम्साघम्सी दोहोरी प्रस्तुत गरेर पृथक मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा जापानमा रहेको नेपाली समुदायका लागि लामो समयदेखि सूचनाको सेवामा निरन्तर योगदान पुरयाएको भन्दै पत्रकार तिलक मल्ललाई सम्मान गरियो । नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रहेका मल्ललाई समारोहका सभापति पासाङ शेर्पाले खादार्पण गरी सम्मान गरेका हुन् । यसैगरी समारोहमा मियकेनस्थित मिया जापानी भाषा स्कुलकी प्रशिक्षक रहेकी यामकुमारी गाहा मगर र हालै मात्र जापान आएका फोटो पत्रकार निसान राना मगरलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा, बुद्धजयन्ती कार्यक्रमलाई सफल पार्न सहयोग पुरयाउने सम्बन्धित सबैप्रति धन्यबाद मन्तब्य राख्दै सभाका सभापति पासाङ शेर्पाले नेपाली राजनीतिमा भारतको प्रत्यक्ष प्रभाव रहँदै आएकोप्रति दु:ख ब्यक्त गरे । उनले गौतम बुद्धको जन्मस्थलबारे भारतले जानीजानी भ्रम फैलाउँदा पनि नेपालका नेताहरु मुकदर्शक बन्ने गरेको आरोप लगाए । उनले भने – ‘नेताहरु भारतको खिलाफमा बोल्न सक्दैनन् । त्यसैको फलस्वरुप भारतमा नक्कली कपिलवस्तु बन्दै गरेको हो ।’

नेपालका ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक कार्यक्रमसहितको २५५६ औं बुद्धजयन्ती कार्यक्रमको जापान मनि एक्सप्रेस (जेएमई) ले प्रायोजन गरेको थियो । कलाकारहरु गर्बुजा, नेपाल र थापा म्याग्देली सञ्जाल जापानको आमन्त्रणमा अघिल्लो हप्ता जापान आएका हुन् । ***

 

 

 

तपाईको प्रतिक्रिया