Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

वीरगन्ज – नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ । गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन् ।

सन्तान नभएकाले बच्चा चोरी
पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ । उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ । मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए ।

शिशुको अवस्था सामान्य
उद्धार गरिएको शिशुलाई नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियू, सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए । ‘बच्चाको अवस्था नर्मल छ,’ उनले भने । उपचारमा संलग्न चिकित्सक डा. सैलेश ठाकुरले शिशुको अवस्था स्थिर रहेको बताए । ‘बच्चा हामीकहाँ आइपुगेदेखि एनआइसियूमा राखेर उपचार भइरहेको छ । सामान्य इन्फेक्सन देखिएको छ, अरू ठीक छ,’ उनले भने । 

यस्तो छ, टाइम लाइन
२१ माघ, बिहान ७ः००
छपकैया–१ की आशादेवी पासवान नारायणी उपक्षेत्रीय अस्पतालको बेड नम्बर ६५ मा भर्ना भइन् ।
२१ माघ, बिहान १०ः४०
आशादेवीले शिशु जन्माइन ।
२१ गते मध्याह्न १ः००–२ः००
शिशु हराएको भन्दै अस्पतालमा खैलाबैला सुरु भयो । यसैबीचमा अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा टेलिफोनमार्फत उजुरी दिए ।
२१ गते २ः०० पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी अपराध शाखाका प्रहरी निरीक्षक उमाशंकर यादवसहित अस्पताल पुगे । जिल्लाभरका प्रहरी एकाइमा यसबारे जानकारी दिइयो । अस्पताल गएर सुत्केरी नभएको, तर नवजात शिशु कसैले ल्याएको छ कि भनेर सोधपुछ तथा निगरानी गरे । राति नाकानाकामा सम्पूर्ण सवारीसाधन जाँचबुझ तथा मानिसलाई निगरानी गर्न लगाए । दुईजना पीडितका आफन्त तथा अस्पतालका नौजना कर्मचारीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइयो ।

वीरगन्जका एफएममा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको थाहा भएमा प्रहरीलाई सूचित गर्न सूचना प्रसारण गरियो । प्रहरी नायव उपरीक्षक जोशीले बिहार प्रहरी तथा रक्सौल प्रहरीमा सम्पर्क गरेर सीमावर्ती क्षेत्रमा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको फेला परेमा जानकारी दिन आग्रह गरे ।

२१ माघ, बेलुका ७ः००–१२ः००
सोधपुछका लागि ल्याइएका दुईजना पीडितका आफन्त तथा नौ जना अस्पतालका कर्मचारीलाई सोधपुछ गरेर छोडियो ।
२२ माघ, दिउँसो ११ः००–२ः००
नारायणी अस्पतालमा जम्मा भएका पीडितका आफन्तले सडक अवरोध गरे । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, सहायक प्रजिअ, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नागरिक समाज, पत्रकार लगायतसँग सुरक्षासम्बन्धी छलफल भयो । सबैले आफूले पाएको सूचना प्रहरीलाई दिने, अस्पतालको सुरक्षा व्यवस्था सुधार गर्ने, तीन दिनभित्र प्रहरीले अनुसन्धानमा भएको प्रगति सार्वजनिक गर्नेलगायतका सहमति भयो ।
२२ माघ, दिउँसो ३ः००
पीडित महिला आशादेवी पासवानका पति र सासूलाई जिल्ला प्रहरी कार्यालय बोलाएर कुनै सूचना पाइन्छ कि भन्ने आसमा प्रहरीले सोधपुछ ग¥यो ।
२३ माघ, बिहान ११ः००
एकजनाले टेलिफोनमा नवजात शिशुबारे जानकारी दिए । तर, उनले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरे ।
२३ माघ बिहान ११ः१५
प्रहरी नायव उपरीक्षक जोशीसहितको प्रहरी टोली सूचनामा जनाइएको स्थान श्रीपुर पुग्यो र बच्चा चोरेर लगेको भनिएको व्यक्तिलाई चिन्ने अर्को मानिस लिएर आयो ।
२३ माघ, दिउँसो २ः००
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साह सहितको प्रहरी टोली बेल्वा–९ मा रहेको बिन्देश्वर साह कानूको घरमा नवजात शिशुलाई लुकाइछिपाई राखेको अवस्थामा शिशुको उद्धार गर्न सफल भयो । र, शिशुलाई अस्पतालमा गई आमा आशादेवी पासवानलाई जिम्मा लगायो ।

‘म आएको दुई साता मात्रै भयो, त्यसैवेलादेखि म अस्पतालको सुरक्षामा सुधार ल्याउन तल्लीन भएर लागेको छु । तर, यो घटनाले मेरा सबै योजना खेर गए जस्तो देखियो । अस्पतालमा बिरामीको मात्रै होइन, कुरुवा, कर्मचारी, स्वास्थ्यकर्मी सबैको सुरक्षा आवश्यक छ । सामान्य नजरले हेर्दा सबै व्यक्ति बिरामी अथवा कुरुवा देखिन्छन् । यदाकदा यसरी आउने आपराधिक गिरोहलाई चिन्न र अस्पतालको सुरक्षाका लागि छुट्टै संयन्त्रको आवश्यकता छ । एउटा बच्चा जन्मिएर स्वस्थ भएपछि आमालाई जिम्मा लगाउने हो । उसलाई स्याहारसुसार गर्न अस्पतालको जनशक्ति पर्याप्त छैन ।

अस्पतालमा पहिलेदेखि नै सिसिटिभी क्यामेरा जडान भए पनि बिग्रिएको अवस्थामा थियो । शनिबारदेखि पावर ब्याकअपको व्यवस्था गरेर १६ वटा सिसिटिभी क्यामेरा चौबिसै घन्टा चल्ने बनाइसकिएको छ । सुरक्षागार्डका रूपमा जम्मा चारजना मात्रै छन् । अब बोर्डबाट पारित गराएर निजी सुरक्षागार्ड राख्ने तयारी गरिरहेको छु ।’ नारायणी उपक्षेत्रीय अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन शाहले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया