काठमाडौं – सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारका लागि सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको बताउनु भएको छ ।
सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबको १२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले पत्रकारको हकहितका लागि सरकार प्रतिबद्ध रहेको भन्दै विशेष प्याकेज ल्याउने तयारी भइरहेको बताउनु भएको हो ।
यस्तै उहाँले पत्रकारले संयमित भएर खबर सम्प्रेषण गर्नुपर्ने पनि बताउनु भएको छ । सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ काठमाडौंमा अकोराबको छैटौँ अधिवेशनमा सुरु भएको हो ।
झण्डै ३ सय सामुदायिक रेडियोका प्रतिनिधि काठमाडौं आएका छन् । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति चयन गर्नेछ । संघमा अहिले २ सय ८७ वटा रेडियो सदस्य छन् । नयाँ कार्यसमितिका लागि कम्तिमा पनि दुईवटा खेमाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।
काँग्रेस निकटबाट किशोरजंग थापा र एमाले निकट समुहबाट सुवास खतिवडा सहितको प्यानलको तयारी भइरहेको बुझिएको छ । माओवादी केन्द्र र नया शक्तिले कुन समुहलाई सहयोग गर्ने भन्ने टुंगो लागिनसकेकाले औपचारिक रुपमा समुह घोषणा गरिएको छैन ।
माओवादी र नया शक्ति निकटका प्रतिनिधिको समर्थन पाउने पक्षलाई चुनाव जित्न सहज हुने देखिएको छ ।