काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलको एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा मारिनेहरुको संख्या ८० पुगेको अधिकारीहरुले जनाएका छन् ।
हाजरा आदिवासी अल्पसंख्यकहरुले पूर्वनिर्णय परिवर्तन गर्दै आफूहरुको प्रान्तदेखि टाढा पर्ने गरी सरकारले बिजुलीको प्रसारण लाइन लैजाने निर्णय गरेको विरोधमा देह मजाङ् क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । ठुलो संख्यामा रहेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई सय जनाभन्दा बढी घाइते भएको र मृतकको संख्या बढ्न सक्छ । बीबीसीका अनुसार घटनास्थलमा क्षतविक्षत शव र पाखुराहरु छरपस्ट देखिएका थिए ।
घटनापछि अफगान राष्ट्रपति अशरफ गनीले घटनाबाट आफू निकै दुखी भएको उल्लेख गर्दै भन्नुभएको छ,‘शान्तिपूर्ण प्रदर्शन प्रत्येक नागरिकको अधिकार हो, तर अवसरवादी आतंकवादीले घुसपैठ गरेर केही सुरक्षाकर्मीसहित कैयौँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने गरी आक्रमण गराएका छन् ।
कट्टरपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले घटनाको जिम्मेवारी लिएको छ ।