बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक शुक्रवार बानेश्वरमा बस्दै गर्दा त्यसैको नक्कल गर्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा अर्को नमुना व्यवस्थापिका संसदको बैठक चलिरहेको थियो ।

‘फ्रिलान्स युथ मुभमेन्ट’ नामक संस्थाले कानुन पढदै गरेका विद्यार्थी भेला पारेर नमुना संसद बोलाएको थियो । नयाँ बानेश्वरको संसदमा सभामुख ओनसरी घर्तीले बजेटका आश्रित विधेयक पेस गरिरहेका बेला नमुना संसदमा भने ओजस्वी भट्टराई सभामुखको भूमिकामा हुनुहुन्थ्यो । बानेश्वरमा सरकारमाथि अविश्वासको प्रस्ताव पेस हुँदै गर्दा यता भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबारे संसदीय समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल चलिरहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।lokman

कानुन पढ्ने विद्यार्थीहरूले डाकेको नमुना बैठकमा संसदमा जसरी महाअभियोगको प्रस्ताव चलाइन्छ, त्यही प्रक्रियाको नक्कल गरिएको थियो । लोकमानमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव संसदमा दर्ता भएपछि सभामुखले त्यसबारे प्रतिवेदन तयार पार्न ११ सदस्यीय छानबिन समिति गठन गर्नुभयो । उक्त समितिले नक्कली लोकमानसिंह कार्कीलाई डाकेर बकपत्र गरायो । लोकमानको भूमिकामा समृद्ध खरेल उपस्थित हुनुहुन्थ्यो । सांसदको भूमिकामा रहेका विद्यार्थीहरूले उहाँलाई प्रश्न गरेका थिए । सांसद बनेका विद्यार्थीहरूले अख्तियारले क्षेत्राधिकार मिचेको, काठमाडौँ विश्वविद्यालयमा हस्तक्षेप गरेको, मेडिकल कलेजको सिट संख्या बढाउन गैरकानूनी काम गरेको लगायतका विषयमा तिखा प्रश्नहरू सोधे ।

प्रश्नोत्तरपछि तयार पारिएको प्रतिवेदन समितिले संसदमा पेस गरेपछि सभामुखले त्यसउपर संसदमा छलफल चलाउनुभयो । नमुना संसदले त्यसपछि संसदीय समितिले पेस गरेका प्रमाणका आधारमा लोकमानलाई महाअभियोग लगाउने प्रस्तावमा व्यवस्थापिका संसदमा मतदान हुनुपने निष्कर्ष निकालेको थियो । त्यस लगत्तै सांसदहरू मतदानमा सहभागी भए । १ सय २१ नक्कली सांसदहरूले मतदान गरेको महाअभियोग लगाउने प्रस्तावको पक्षमा ९० र विपक्षमा ३१ मत परेको थियो ।

संसदको दुई तिहाई मत महाअभियोग लगाउने पक्षमा परेपछि सभामुखले लोकमानलाई महाभियोग लगाई बर्खास्त गर्ने निर्णय सुनाउनुभएको थियो । नमुना संसदको यस्तो अभ्यासमा नेपाल ल क्याम्पस, चक्रवर्ती ल कलेज र नेसनल ल कलेजका कानुनमा स्नातक पढिरहेका विद्यार्थीहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया