क्यानडा – प्रत्येक वर्षको जुलाई महिनामा क्यानडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यस पटक पनि स्थानीय नेपाली समुदायले विभिन्न नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।
नेपालका विविध संस्कृति झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू झाँकीमा उपस्थित भएका थिए भने स्थानीय कलाकारहरूले नेपालीको वीरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरूले अझ नेपालीपन झल्काएको थियो । नेपाली प्रदर्शनीलाई परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको एनसीएससीका अध्यक्ष ध्रुब राईले समुद्रपारिलाई जानकारी दिनुभयो ।
दुई सय वर्षभन्दा लामो इतिहास बोकेको क्यालगरी स्टम्पिड दस दिन सम्म रोडियो, परेड, संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ । क्यालगरी स्टम्पिड संसारको सबभन्दा ठुलो ‘आउटडोरसो’ मानिन्छ । जसमा संसारभरका झन्डै दशलाख मानिस सहभागी हुने गर्दछन् ।
क्यानडामा ‘भिजिबल माइनोरिटी’ को रूपमा रहेको नेपाली समुदायका तर्फबाट पहिलो पटक सहभागिता जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानडामा स्थापित गराउन थप मदत पुगेको र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत अप्रतक्ष्य रूपमा टेवा पुर्याउने विश्वास लिइएको सीएनसीएका अध्यक्ष दिव्य प्रधानले बताउनुभयो ।
आगामी वर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिइने अध्यक्ष राईले बताउनुभयो ।
भिडियो :