पृष्ठभूमि
पृथ्वीको सतह देखिएको बनावट बिपरित पृथ्वी मुख्यतः आठ वटा चलायमान टेकटोनिक प्लेटहरुबाट बनेको छ । ती हुन् १. यूरेशियन प्लेट, २.भारतीय प्लेट ३. अफ्रिकन प्लेट ४. उत्तर अमेरिका प्लेट ५. दक्षिण अमेरिका प्लेट ६. प्रशान्त प्लेट ७. अनतार्टिक प्लेट र ८. अस्ट्रेलिया प्लेट । यी चलायमान प्लेटहरुहरुको कारण बेलाबेलामा अनेकौं कम्पनहरु जान्छन जसलाई हामी सामान्य हिसाबले भूकम्प भन्छौ । दैनिक हजारौं भूकम्प जान्छ तर अलिक ठूलो मात्र मानिसले महसुस गर्न सक्छ ।
लाखौं वर्ष अगाडि अहिलेको तिब्बत र भारतको वीचमा टेथिस नाम गरेको समुद्र थियो । यूरेशियन प्लेट र भारतीय प्लेटको लगातारको जुधाईले आजको हिमालयको उत्पती भएको हो । यसको कारण नै हो समुन्द्री जीवहरुको अवशेष सगरमाथाको टुप्पोमा समेत पाइएको हो। अफगानिस्तान देखि नेपाल हुंदै म्यानमारसम्म फैलिएको हिमालय संसारमा कान्छो र सक्रिय पर्वत हो । यूरेशियन प्लेटतिर भारतीय प्लेटको निरन्ततर धक्काले यस क्षेत्रलाई अत्यधिक भूकम्पीय बनाएको छ ।
नाजुक पहाडहरू, चार ऋतुहरु, सक्रिय टेकटोनिक प्रक्रियाहरू, अनियोजित बस्तिहरु, उच्च कोण स्लोपहरू (भिरालो पहाड), र कम साक्षरता दरको कारण नेपालमा बाढी, पहिरो सहित भूकम्प जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोपको संभावना संधै नै रहेको छ । वार्षिक आधारमा धेरै मानिसहरू प्राकृतिक प्रकोपमा आफ्नो जीवन र धन गुमाईरहेका छन् । यो हिमालय क्षेत्रमा भूकम्पको बारेमा पुराना संस्कृत किताबहरु र विभिन्न वंमशावलीहरूमा समेत उल्लेख गरेको पाइन्छ । नेपालमा सन् १२५५ मा भएको भूकम्पमा राजा अभय मल्ल समेत मारिएको रेकर्ड छ ।
पहिलेका विपद तयारी अवस्था
गृह मन्त्रालयद्वारा संग्रह गरिएको वार्षिक विपत्ति तथ्यांकको आधारमा बाढी र पहिरोको कारण सबैभन्दा धेरै धनजनको क्षति देखिन्छ र यसको कारण सरकारको ध्यान जल उत्पन्न प्रकोपको न्यूनिकरणमा ज्यादा केन्द्रित छ । भयानक भूकम्प नेपालमा कम मात्रामा आँउछ ता पनि तिनीहरूले गर्ने क्षतिको अंश सबैभन्दा ठूलो छ । सबै प्रमुख प्रकोपहरुमा भूकम्पको कारण ४५% मृत्यु देखिन्छ ।
नेपाल र काठमाडौं उपत्यका भूकम्पको उच्च जोखिम छ। लिपिबद्ध भूकम्पहरु १२५५, १४०८, १६८१, १८१०, १८३३, १८६६, १९३४, र १९८८ हुन् । भूकम्पले गर्दा मानव जीवनमा बाहेक संरचनामा गम्भीर क्षति गराई महत्त्वपूर्ण आर्थिक घाटा गर्छ। विगतका अध्ययनले पनि गंभीर भूकम्पको समयमा जीवन र संरचनाको क्षतिको उच्च सम्भावना तर्फ संकेत गरेका थिए । यो लेखकले गरेको बिगतको अध्ययनले पनि भूकम्पको समयमा काठमाडौं उपत्यकामा क्षति र विनाश उच्च स्तर देखाएको थियो । यसबाहेक अर्को एक अध्ययनले काठमाडौंको जीवित व्यक्ति टोकियोमा बस्ने जीवित व्यक्ति भन्दा ६० गुणा बढि भूकम्पको कारणले मृत्यु हुन सक्ने सम्भावना अनुमान गरिएको थियो। हाम्रो हिमाल पहाडतिरको ढुंगाका घर अनि उपत्यकाका पुराना घरमा ईन्जिनियरिंग प्रबिधि प्रयोग गरेर घरहरु प्रायः बन्दैनन् जसको कारण घरनै मृत्युको कारण बढि हुने हो भूकम्पको समयमा । मानव संरचना नै मृत्युको कारण बन्न पुगेका छन् संसारैभरि भूकम्पको समयमा ।
त्यसै गरी नेपाल र यसको सीमानाको १५० किलोमीटर आसपास ९२ फल्ट (दरार) छन्। दरारमा निरन्तर जम्मा भएको दवाब थेग्न नसक्ने भएपछि भूकम्प जाने गर्छ। ५०० वर्ष देखि यो क्षेत्रमा यहाँ ठूलो मात्रामा दवाब जम्मा भएको भन्ने बैज्ञानिकहरुको मत थियो र यसको कारणले गर्दा यहाँ जुनै पनि अवस्थामा ठूलो भूकम्पको सम्भावना थियो । अहिलेसम्म भूकम्प आउने ठयाक्कै समयको ज्ञान बिज्ञानले विकास गर्न नसकेकोले गर्दा यहि समय भन्न नसकिएको हो ।
बिपतका केहि कारण
निरन्तरको राजनीतिक खिचलो, कमजोर पूर्वतयारी, सहरमा मात्र केहि वर्ष अघि देखि लागू गरिएको भवन आचार संहिता, विकासे काममा पूर्ण जिम्मेवारीको अभाव लगायतको कारणहरु त छंदै थिए ।यस्तो वातावरणमा यसपटक गएको ७.९ स्केलको भूकम्पले धेरै नै क्षति र विनाश गरेको छ । हजारौंको मृत्यु र घाइते भएको कारण सबै दुःखित छन । यसो हुनुको अन्य कारणमा बि. स. १९९० सालको अवस्था भन्दा नेपालको जनसंख्या धेरै नै हुनु पनि हो भने पहिलेको अनुपातमा सहरमा धेरैको बसोबस रहनु पनि हो । त्यसै त हामी संक्रमणकालीन अवस्थामा छौ यहि निँहुमा राजनीतिक गतिरोध लम्बिएर बिकासका कुराहरु अलपत्र पर्ने शंकालाई पनि नकार्न सकिदैन । किनभने २०६३ सालमा यस लेखक समेत संलग्न भएर करिब १ वर्ष लगाएर बनाएको बिपत ब्यबस्थापन सम्बन्धी अति महत्वपूर्ण कानूनको मस्यौदा तत्कालिन गृह मन्त्रि कृष्ण सिटौलालाई बुझाइएको थियो । धेरै सरकार बदलिरहे तर झण्डै १० वर्ष हुदाँसम्म यसको कानून बन्ने सुरसार नै छैन । राम्रो संग कानून हुन्थ्यो भने आज त्यसको आडमा बनेको चुस्त संरचनाले कठिन परिवेशमा बिशेष काम गरेको अवस्था आशा गर्न सकिन्थ्यो । सन् २००४ को सुनामी पछि श्रीलंकाले विपद सम्बन्धि मन्त्रालय नै बनाएर काम गरिराखेको छ । अरुको दुःखबाट सिक्न नसक्नु हाम्रो कमजोरी हो ।
सकारात्मक कुराहरु
तर यति हुदाँ हुँदै पनि केहि सकारात्मक कुराहरु पनि भेटिन्छन् । यो भूकम्प शनिबार बिदाको दिनमा परयो । दोस्रो दिउँसोको समय परयो । तेस्रो घाम लागेको अवस्था परयो । यदि यो समय २०४५ सालको भूकम्पको जस्तो बिहान भएको भए अति नै दुःखद अवस्था हुन्थ्यो । शनिबार बिदा परेकोले लाखौ विद्यार्थीहरु ठूलो जोखिमबाट बचे । किनकि हजारौ स्कुलहरु या त कम्जोर छन् वा डिजाइन बिपरित आवासीय भवनमा भाडामा बसेका छन् भने कति त नाम मात्रका भवन पनि छन् । भविष्यका कर्णधारको यो बचाईले केहि आशाको दियो बलेको छ । त्यस्तै अहिले करिब ६० लाख नेपालीहरु भारत बाहेकका देशहरुमा प्रवासी रहनु भएको छ । यो लेखक पनि हाल जापानमा छ । सबै प्रवासी नेपालीजनहरु एक यो बिपतबाट संयोगले बच्नुभयो भने अर्कोतिर सहयोगी हातहरु नेपालतर्फ अगाडि बढाउन पाउनु भएको छ । प्रवल गुरुङ (अमेरिका), निरुपमा शर्मा (क्यानडा) लगायत धेरै सहयोगी हातहरु विभिन्न देशबाट आफ्नो गच्छ अनुसार नेपाललाई मद्दत गर्ने प्रयास जारी राख्नुभएको छ ।आखिर कसैको दुःख हेर्न नसक्ने नेपाली मन जो छ । यसले फेरी सावित गरेको छ- नेपालीहरु वीर मात्र होइनन् दयावान पनि त्यतिकै छन् । यतिबेला फेरी पनि नेपालीपन बोलेको छ ।
तत्काल गर्न सकिने कुरा
क्षति र बिपत्ति पछिको अवस्थामा आफूले तत्काल गर्ने भनेको आफ्नो छिमेकलाई सहयोग नै हो । हल्लाको पछाडि नलागी आफ्नो स्वबिबेकलाई प्रयोग गरि सबैजना आफ्नो कर्तव्यपथमा राम्रोसंग लाग्ने हो भने यो अवस्थाको सामान्यीकरण चाँडै भै वास्तविक पीडितलाई सहयोग गर्ने काममा स्रोत र साधनको उचित प्रयोग हुनसक्छ । यसमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।
२०४५ सालको पूर्बी नेपालको भूकम्पको अनुभव र सन् २०११ को जापानमा विपद बारेमा पीएचडि गर्दा ताका गएको महाभूकम्पको प्रत्यक्ष्य अनुभवले मलाई सिकाएको पाठ भनेको सहयोगीपन, धैर्य र दृढता हो ।सबैलाई थाहा भएको कुरा हो धेरै भूकम्प जाने र पूर्वतयारी पनि धेरै नै हुने जापान जस्तो देशमा पनि करिब २० हजारको देहान्त भएको थियो । स्कुलको समय भएकोले धेरै बालबालिकाको मृत्यु भएको थियो । तर त्यो अवस्था भूकम्पको कारणले गर्दा आएको बिशाल सामुद्रिक छाल (सुनामी) ले गर्दा भएको हो । भूकम्पको कारणले घरहरु खासै भत्किएनन र धेरै मानिसको हताहत भएन । जापानमा भूकम्पपछि आउने अफ्टर शक्मा समेत घरमा भए घरमा नै सुरक्षित रुपमा बस्न भनिएको थियो ।
सिक्नुपर्ने पाठ
नेपालको समाचारमा देखिएका तस्विरहरुबाट के देखिन्छ भने पुराना मात्रै होइन आधुनिक हिसाबले बनाएका घरहरु पनि तासको महल जस्ता गर्ल्याम्म ढलेका छन् । बाहिरी सुन्दरता मात्र होइन बलियोसंग प्राबिधिक रेखदेखमा बनायो भने घरहरु भत्किदैननन् र मानवीय क्षति कम गर्न सकिन्छ ।यो बाहेक अर्को महत्वपूर्ण कुरा भनेको खुला ठाँउको योजना हो । हाम्रा पुर्खाले राखेका टुँडिखेल जस्ता खुला स्थानले अहिले धेरै सहयोग गरेको छ ।हामीले अब गर्नैपर्ने भनेको प्रत्येक नयाँ बस्तीहरुलाई योजनाबद्ध रुपमा विकास गरी आवश्यक खुला क्षेत्र राख्नु हो । पुरानो बस्तीमा पनि खुला क्षेत्र राख्ने ब्यबस्था गर्नैपर्छ ।यसो गर्नाले सामान्य अवस्थामा स्थानीय जनतालाई खेल्ने ठाउँ हुन्छ भने प्रकोपको समयमा तुरुन्त उद्धार र राहत गर्ने ठाउँ हुन्छ । यस्तो गर्न सम्भव छ किनभने जापानमा पनि सन् १९२३ को भूकम्पमा टोकियोमा धेरै घरहरु आगलागीको कारणले जल्यो र करिब १ लाख जनाको हताहतमा अधिकांशको जलेर मृत्यु भयो ।यसको कारण भागेर जाने आवश्यक खुल्ला ठाउँ नै थिएन ।यसबाट पाठ सिकेर टोकियोमा पछि धेरै खुला पार्कहरुको निर्माण गरियो र यसले पछि भएको प्रकोपमा उद्धार र राहतमा धेरै सहयोग पुग्यो ।यतिसम्म कि अहिले त यहाँका स-साना टोलमा पनि सानोतिनो पार्क हुन्छ र त्यहाँ विपतको लागि भनेर एउटा फलामे दराजमा बिपतमा आवश्यक पर्ने सामग्रीहरु राखिएका हुन्छन् । हामी पनि यो २०७२ सालको महाभूकम्पले दिएको सन्देशको रूपमा सहि बस्तीहरूलाई ब्यवस्थित रूपमा बसाऔं ।हाम्रा पुर्खाहरुले काठमाडौँ उपत्यकामा ब्यवस्थित बस्तीहरु बसालेर गएका नै हुन् । आजको दिनमा हामीसंग प्रशस्त सहरी योजनाबिद, आर्किटेक्ट अनि इन्जिनियरहरु हुनुहुन्छ । महाभूकम्पले गर्दा जनजनमा अभूतपूर्व रूपमा चेतना पनि ल्याएको छ – बलियो घर बनाउन अति जरुरी छ अनि खुला ठाउँ पनि महत्वपूर्ण छ । सबैजना मिलेर आवश्यक विज्ञहरुको ज्ञान प्रयोग गरि भबिष्यको लागि सुरक्षित बस्तीहरुको विकास गर्न आजैबाट प्रण गरौं ।सरकारले पनि आवश्यक कानून तुरुन्त जारी गरेर सहयोग गर्ने अपेक्षा गरौं । तिमी चिताउँ म पुरयाउंछु भनेर त भगवानले पनि भन्नुहुन्छ ।
(लेखक डा. उप्रेती सहरी योजनाबिद हुनुहुन्छ, उहाँले जापानबाट भूकम्प सम्बन्धी विषयमा डक्टररेट गर्नुभएको छ)