काठमाडौ – काडागाउँदेखि ५ दिनको यात्रा गरेर काठमाडौं आइपुगेका ३५ जुम्लीमा १५ वर्षीय नवराज बुढा पनि छन् । ७८ वर्षीय लक्ष्मीराम बुढा सबभन्दा बूढो भएको यो टोलीमा नवराजचाहिँ सबभन्दा कान्छा रहेछन् । दस कक्षामा पढ्ने उनको यात्रा अनुभव-
काठमाडौं किन आएको ?
भ्रष्टाचारीलाई पक्रिपाऊँ भन्न आएको ।
के भ्रष्टाचार भयो ?
हामीले कुलो खनेम, रुपियाँ उनीहरूले
खाए ।
काठमाडौं पहिलो चोटि आएको हो ?
हजुर ।
गाडी पनि पहिलो पटक देखेको रे हो ?
अँ ।
कस्तो लाग्यो त गाडी ?
गाडी देख्दा त एकदम रमाइलो लाग्यो । चढम् चढम् लाग्यो । चढेपछि एकछिन मज्जा पनि आयो । तर पछि बान्ता चलेर हैरान भइगो । रिङटा लाग्यो सर ।
गाडी चढ्दा रमाइलो कि हिँड्दा रमाइलो त ?
मलाई त हिँड्दा रमाइलो लागो ।
काठमाडौं कस्तो लाग्यो नि ?
एकदम रमाइलो ।
के रमाइलो ?
यहाँका घर ठूलाठूला, हाम्रा पहाडजस्ता । हाम्रा घरभन्दा राम्रा यहाँका सडक । यहाँका केटीहरू पनि राम्रा र चिल्ला । उनीहरू पाइन्ट लगाउँदा रहेछन् । ठमठम्ती हिँड्दारछन् । उता (जुम्लातिर) त केटीहरू लाज मान्छन् । यही सबभन्दा रमाइलो लागो ।
जुम्लाका केटी राम्रा कि यहाँका ?
ह्याँकै राम्रा ।
कसैसँग कुराकानी पनि गरियो कि ?
कुरा त होइन, हेर्न चाहिँ धेरै हेर्या हुँ । एउटीलाई त मैले ठेली पनि दिएँ ।
बिहा यतै गर्ने हो त ?
(लजाउँदै) गर्न त मन भो सर । अब पाइने हो कि होइन ।