काठमाडौं – हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ । गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन् ।
ती सबै चार जना बन्धकहरू इजरेली महिला सैनिकहरू हुन् । उनीहरू करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग छन् । यसअघि युद्धविराम सुरु भएकै दिन गत आइतवार हमासले तीनजना महिला बन्धक छाडेको थियो । शनिवार नै मुक्त मुक्त हुने अपेक्षा गरिएका एकजना इजरेली सर्वसाधारणको नाम हमासले सार्वजनिक गरेको सूचीमा थिएन ।
इजरेलले त्यसको बदलामा झण्डै २०० जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । यस आदानप्रदान प्रक्रियालाई रेडक्रसले मध्यस्थता गरिरहेको छ । बन्धकहरू छुट्ने तयारी भईरहँदादेखि नै गाजा सीटीको केन्द्र भागमा सर्वसाधारणहरूको भीडसहित दर्जनौँ हमास लडाकुहरू देखा परेका थिए । सैन्य पोसाकमा रहेका लडाकुहरूमध्ये केहीले बन्दुक बोकेका देखिन्थे ।
इजरेलतर्फ तेलअभिभको होस्टेज स्क्वायरमा मानिसहरू जुटेर ठूलो पर्दामा गाजाको प्रत्यक्ष खबरको दृश्य हेरिरहेका छन् । मुक्त भएका बन्धकहरूको प्रतिक्षामा उनीहरूका परिवारका सदस्यहरू गाजासँगको सीमामा पुगेका छन् । -बीबीसी