टोकियो – पछिल्लो वर्ष जापानमा कीर्तिमानी सङ्ख्यामा पर्यटकहरूले भ्रमण गरेका छन् । कमजोर येन र यहाँको सांस्कृतिक विशेषताले पर्यटकहरूलाई आकर्षित गरेको हो ।
जापानमा सन् २०२४ मा ३ करोड ६७ लाख ८० हजार विदेशी आगन्तुक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले बढेको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । यो सङ्ख्या सन् २०१९ मा सेट गरिएको ३ करोड ११ लाख ९० हजारको अघिल्लो रेकर्डभन्दा बढी छ । जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार सन् १९५० मा तथ्यांकहरू सुरु भएदेखि विदेशी आगन्तुक आएको यो सबैभन्दा उच्च सङ्ख्या हो ।
यो पनि : जापानको आर्थिक विकासमा सुधार, श्रमिक अभाव कायमै
अन्तर्राष्ट्रिय उडानहरूको पुनः सुचारु र महामारी पछि बलियो रिकभरी प्रवृत्तिलाई विकासमा योगदान पुर्याउने प्रमुख कारकहरू मानिएको छ । यसका केही कारणमध्ये सरकारद्वारा माउन्ट फुजीका मनोरम ढलानदेखि दुर्गम क्षेत्रका मन्दिर र सुशी बारहरूजस्ता आकर्षणहरू प्रवर्द्धन गर्ने नीति तथा कमजोर येन पनि हुन् ।
धेरैजसो पर्यटकहरू पर्यटन जस्ता उद्देश्यका लागि छोटो अवधिको भ्रमणमा आएका थिए । अन्य कोटीहरूमा अध्ययन र प्राविधिक इन्टर्नशिप समावेश छन् । सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या झण्डै दोब्बर गरी ६० मिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।