समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा संलग्न ठहरिएका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश जारी गर्दै उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।
यसअघि, थुनछेक बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारीले बहस गरेका थिए। जोशीका पक्षमा शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस प्रस्तुत गरेका थिए।
जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो माग गरिएको थियो। सोमबार अपराह्न उनले धरौटी रकम बुझाइसकेका छन्।उक्त मुद्दाअघि, कास्कीको सुर्यदर्शन सहकारी प्रकरणमा पनि कास्की जिल्ला अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।