काठमाडौं – दक्षिणपूर्वी एसियाको विकसित देश जापानले आगामी १५ वर्षमा १० लाख आप्रवासी कामदार भित्र्याउने नीति अघि सारेको छ । जापान सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सन् २०४० मा १० लाख विदेशी कामदार भित्र्याउने नीति लिएको हो ।
दक्षिण पूर्वी एसियाकै कामदार वैदेशिक रोजगारीमा लैजाने नीति लिएको रोयटर्सले जनाएको छ । जापानले सन् २०४० भित्र विशेष सीप भएका कामदार नेपालसहित चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, मंगोलियालगायत देशबाट आपूर्ति गर्ने नीति लिएको छ ।
जापानले इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि, नर्सिङ स्याहारसुसार, भवन सरसफाइ व्यवस्थापन, मेसिनका पार्टपुर्जा, औजार उद्योग, औद्योगिक मेसिन उत्पादन गर्ने उद्योग, अटोमोबाइल मर्मतसम्भार, पानीजहाज निर्माण, पानीजहाज मेसिनरी, उड्डयन क्षेत्र, कृषि, खानपान व्यवसाय खाद्य र पेय पदार्थ उद्योग, माछापालन तथा अकुवाकल्चर र होटेल क्षेत्रमा विदेशी कामदार भित्र्याउने नीति लिएको हो ।
जापान सरकारले आप्रवासी कामदारलाई स्वीकार गर्ने स्थानीय रोजगारदाता कम्पनीलाई सहज बनाउन दक्ष रोजगारीका लागि वर्क पर्मिट अनुमति विस्तारको काम पनि थालेको छ । पछिल्लो समयमा जापानमा विदेशी कामदारको संख्या चारगुणाले बढेको जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो पनि : दक्ष कामदारको पलायन रोक्न चुनौती
नेपालको मुख्य दातामध्ये एक जापानले विदेशी कामदार तीव्र गतिमा भित्र्याइरहे पनि नेपाली युवाले भने अवसर पाएका छैनन् । नेपाल र जापान सरकारबीच सन् २०१९ को मार्चमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । श्रम सम्झौता भएको ६ वर्ष बित्दा पनि सरकारले सीपयुक्त कामदार जापान पठाउन सकेको छैन ।
नेपालबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिमा जापानमा कामदार गइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताए । उनकाअनुसार सरकारी स्तरमा जापानमा नेपाली कामदार पठाउन पहल भइरहेको छ । ‘सरकारले कार्यविधि तयार परेको छ,’ उनले भने, ‘सोहीअनुसार जापान कामदार पठाउन विशेष पहल हुन्छ ।’
म्यानपावर र कन्सल्टेन्सीले व्यक्तिगत भिसामा कामदार पठाइरहेका छन् । सरकारले श्रम सम्झौता गरेर जापानमा कामदार पठाउन नसकेर अपरिपक्वता देखाएको रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन् । उनको बुझाइमा जापानले मागेजस्तो दक्ष श्रमिक नेपालमा नपाइएको भन्दै सरकार तर्किने गरेको छ । जापान वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको छ ।