काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने भएको छ । बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने भएका छन् ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने छन् । यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको बोर्डको अनुमान छ ।
मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या हेरेपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने परीक्षा नियन्त्रक शर्माले बताए । १४ लाखले मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो । सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यक्रममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो ।
तत्कालीन परिषद्ले २०५६ सालदेखि भने आफ्नै पाठ्यक्रमबाट कक्षा ११ र १२ को पढाइ सञ्चालन गरेको थियो । परीक्षा नियन्त्रक शर्माका अनुसार पहिलो चरणमा बोर्ड आफूले बनाएको पाठ्यक्रम अनुसार पढेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको हो। २०५२ देखि २०५५ सालसम्मका विद्यार्थीले पनि मौका परीक्षा माग गरेर आए भने फेरि निर्णय गरेर मौका परीक्षा व्यवस्था गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।
बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन् । यस्ता विद्यार्थीलाई मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ ।